अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

नेपालमा कोरोनाको तेस्रो लहरको जोखिम बढ्यो, थपिए २७ सय १४ नयाँ सङ्क्रमित

बिआरटीनेपाल २०७८ साउन ७ गते ७:५७ मा प्रकाशित

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ८ सय २९ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ९ हजार १ सय २२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परीक्षण गर्दा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख ७४ हजार ७ सय २६ र एन्टीजेन विधिबाट ५२ हजार ४ सय ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख २७ हजार १ सय ६९ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर १ हजार २ सय ८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यसैबीच, मन्त्रालयले मुलुकमा कोरोना महामारीको तेस्रो चरणको लहरको संकेत देखिएको भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेको र जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना नगर्दा कोरोनाको तेस्रो लहर सुरु हुन सक्ने भएकाले अस्पतालका बेडहरु र अक्सिजको अवस्थालाई चुस्तदुरुस्त बनाउन भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू