अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

आफ्नो माग पूरा गर्न बेलायतमा गोर्खाहरूले रिले अनशन थाले

बिआरटीनेपाल २०७८ साउन ७ गते ०:२९ मा प्रकाशित

पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताउनुभयो ।

बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक एक जना अनशन बस्ने योजना रहेको राईले बताउनुभयो । सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अनुसार यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको बताउनुभयो ।

गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवासीय नेपाली सङ्घ यूकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएको थियो । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।

नेपाल सरकार र बेलायत सरकारलाई आफ्ना माग पुर्याइसकिएको र बेलायतजस्तो ठाउँमा अनशनजस्तो गतिविधि गर्नुले समस्या समाधानभन्दा पनि थप जटिल हुने गेसो संस्थाका सभापति कृष्णकुमार राईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू