अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

रूपको स्मृतिमा रनिङ सिल्ड, एनआरएनए अमेरिकाको प्रवक्तामा तोया दाहाल

बिआरटीनेपाल २०७८ साउन १ गते ९:३४ मा प्रकाशित

अमेरिका । २०२१–२३ का लागि पदभार ग्रहण गरेपछि एनआरएनए अमेरिकाको पहिलो कार्यसमिति बैठकले नेपाली मूलका अन्तर्राष्ट्रिय भारोत्तोलन (आइपिएल)का स्वर्ण पदक विजेता खेलाडी रूप कार्कीको स्मृतिमा गठन गरिएको फाउन्डेशनलाई ५ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । साथै रूप कार्कीको स्मृतिमा एनआरएनए अमेरिकाले निकट भविष्यमा रनिङ सिल्डको आयोजना समेत गर्ने भएको छ । अमेरिकालाई कर्म भूमि बनाएका रूप कार्की नेपालको खेलकुद क्षेत्रलाई माथि उठाउन सहयोग गरिरहेका थिए । त्यसै क्रममा नेपाल गएको समयमा उनको निधन भएको थियो ।

एनआरएनए अमेरिकाको विधानले अध्यक्षलाई प्रवक्ता चयन गर्ने अधिकार प्रत्यायोजन गरेको छ । त्यसै अनुरूप अध्यक्ष बुद्धि सागर सुवेदीले महासचिव अनजान चौलागाई मार्फत प्रवक्ताका लागि पत्रकार तोया दाहालको नाम प्रस्ताव गर्नु भयो । एनआरएनए अमेरिकाको पहिलो बैठकले प्रवक्ताका लागि दाहालको नाम अनुमोदन गरेको छ । दाहाल नेपालमा रहँदा कान्तिपुर टेलिभिजनको खोजमूलक समाचारको कार्यक्रम कान्तिपुर आजको प्रोड्युसर, समाचार विभागको सामाजिक, स्वास्थ्य, नागरिक उड्डयन विटको संयोजक भएर काम गर्नु भएको थियो । साथै दाहालले राजधानी दैनिकमा उपसम्पादक, खोज पत्रकारिता केन्द्रमा रिपोर्टर र देशान्तर साप्ताहिक लगायतका पत्रपत्रिकामा काम गर्नु भएको छ । तोया दाहाल दूरबिन नेपालका सम्पादक साथै नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका पूर्व महासचिव समेत हुनुहुन्छ ।

शपथ कार्यक्रममा सहभागी हुन भएका विशेष अतिथि एनआरएनए उत्तर अमेरिका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठी, उपसंयोजक (डीआरसी) राम सी पोखरेलले बधाई तथा शुभकामना दिनु भयो । प्रवक्ता दाहालको सञ्चार क्षेत्रको अनुभव र विज्ञताले एनआरएनए अमेरिकालाई थप उचाइमा लैजान सहयोग पुग्ने त्रिपाठीले विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्ष द्वय गोपेन्द्र भट्टराई र सुमन थापा, महासचिव अन्जन कुमार चौलागाई, सचिव द्वय अनुप खनाल र सुनिता सापकोटा कँडेल, कोषाध्यक्ष राजीव श्रेष्ठ, बोर्ड सदस्य बाला घिमिरे, प्रभात सापकोटा लगायतले आफ्ना भनाई राख्दै पद तथा गोपनीयताको शपथ लिनु हुने पदाधिकारी, बोर्ड सदस्य तथा च्याप्टर अध्यक्षलाई बधाई तथा शुभकामना दिनु भयो ।

विविध कारणले एनआरएनए अमेरिकाको न्युयोर्कमा आयोजित अधिवेशनमा सहभागी हुन नसक्नु भएका सह कोषाध्यक्ष, अग्नि ढकाल, बोर्ड सदस्य राज ढुङ्गाना, इन्डियाना च्याप्टरका सभापति खिम खतिवडा सहित प्रवक्ता तोया दाहाललाई अध्यक्ष बुद्धि सागर सुवेदीले अनलाइन प्रविधि जुमबाट शपथ गराउनु भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०१९–२१ को दुई वर्षीय कार्यकाल पुरा गरी बिदा भएको निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ । नयाँ कार्यसमिति चयन गर्न आयोजित निर्वाचनमा सहभागी हुनु भएका सम्पूर्ण मतदाता र सहभागी सबै पक्षलाई धन्यवाद दिएको छ ।

महासचिव अनजान चौलागाईका बुबा बालकृष्ण चौलागाईको मृत्यु बरण गर्नु भएकोमा दुख व्यक्त गर्दै बैठकमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । महासचिव चौलागाई र परिवारमा समवेदना जनाउँदै बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया