अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

अनेसासले समेट्दै छ प्रवासका दोस्रो पुस्तालाई

बिआरटीनेपाल २०७८ असार २८ गते २२:१५ मा प्रकाशित

प्रवासमा बसेका दोस्रो पुस्ताका बालबालिकालाई आफ्नो पन, नेपाली भाषा र साहित्यमा सहभागी गराउने उद्देश्यले जेठ महिनादेखि अनेसासबाट “अनेसास बालतारा” कार्यक्रम सुरु गरिएको छ ।

प्रवासका बालबालिकाको सिर्जना र संवादलाई बालबालिकाबिच पुर्‍याउने र बालबालिका सहभागिता नै प्रेरणा बनोस् भन्ने सोच राखेर आरम्भ गरिएको उक्त भर्चुअल कार्यक्रम हाललाई मासिक रूपमा सञ्चालन गरिएको छ । प्रत्येक महिना पाँचजना बालबालिका र एक बालसाहित्यकारसंग संवाद र वहाँहरूको सिर्जना सुन्ने सुनाउने योजना रहेको कुरा सञ्चालिका अनेसासको केन्द्रीय सचिव तथा बाल साहित्यकार विमला निरौलाले बताउनु भयो । ईनेप्लिजबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा दोस्रो पुस्ताको सहभागिता रहेको यस कार्यक्रमले प्रवासका बालबालिकामा निकै सकारात्मक योगदान रहने विचार पनि व्यक्त गरिएको थियो । दोस्रो शृङ्खलाको गत आइतबार असार २७ गते प्रसारण भएको थियो ।

दोस्रो कार्यक्रमको प्रारम्भ मनासस भर्जिनियाकी सानी बालिका गरिमा तिम्सिनाको राष्ट्रिय गानबाट सुरु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले प्राविधिक सहयोग गर्नुका साथै भाइबैनीहरुलाई शुभकामना दिनुभएको थियो । अनेसास बोर्डअफ ट्रस्टीका उपसभापति द्वय पदम विश्वकर्मा र पुरु सुबेदीले शुभकामना दिनु भएको थियो । कार्यक्रममा स्पेनबाट लिदिया भुसाल, मेरिल्यान्डबाट प्रिया सुबेदी, पोर्चुगलबाट मानश्वी खराल, जापानबाट अबिनभ गिरी, न्यूयोर्कबाट पूर्णिमा जी सीसमेत पाँचै जनाले मिठा मिठा रचना वाचन गर्नुकासाथै नेपाली भाषामा संवाद गरेका थिए । विशेष अतिथिकोरुपमा लमजुङ नेपालको भोर्लेटारबाट जोडिनु भएको बाल साहित्यकार रमेशचन्द्र घिमिरेले बाल प्रतिभा बारेमा आफ्नो विचार राख्दै आफ्ना मिठा बाल सिर्जना सुनाउनु भएको थियो । अन्य बाल सहभागितामा मनासस भर्जिनिया निवासी ९ वर्षका सानो भाइ आभास अर्यालले भानुभक्तको बारेमा छोटो चिनारी पढेर सुनाएका थिए । असार महिना के हो भन्ने बारेमा असारको महिमामा छोटो विचार मनासस भर्जिनिया बस्ने अर्का बाल प्रतिभा बिश्वेस दुंगानाले राखेका थिए । बालबालिकालाई सिर्जनाका साथ एक अर्कासँग परिचित हुनु र सामाजिक ज्ञान समेतमा सहभागी हुन पाएकोमा बालबालिकाहरू हर्षित देखिन्थे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रवासका दोस्रो पुस्ताका बालबालिकाको लागि गरेको यो कदमको सबैतिरबाट प्रशंसा गर्दै कार्यक्रमको निरन्तरता र शुभकामना प्राप्त भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू