अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको युएईबाट उद्धार

बिआरटीनेपाल २०७८ असार १६ गते ७:३४ मा प्रकाशित

झन्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्ने बित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइन म र मेरा बच्चाहरू यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने । यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै युएई गएकी थिइन । उनी सेल्समा काम गर्थिन् । सबै कुरा सोचे अनुरूप नै थियो । तर अचानक डोल्पाको जीवनले फरक मोड लियो । डोल्पाले जसलाई विश्वास गरेर उसले धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् । तर, एक दिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् उनलाई अस्पताल पुर्‍याइयो ।

उपचारका क्रममा डोल्मा गर्भवती भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो । अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन सक्थिन् न त दुबईमा बस्ने आधार थियो ।

अगस्त २०२० मा दुबई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिइन् । सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन डोल्माको । सोही क्रममा डोल्मा गैर आवासीय नेपाली सङ्घको युएईको सम्पर्कमा आइन् ।
उनको उद्धारका लागि पहल सुरु गरिए । गैर आवासीय नेपाली सङ्घ युएईमार्फत गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्धार कार्यक्रमको टिमले पहलकदमी लियो । त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो । डोल्मा भन्छिन्, “त्यति बेला निकै कठिन थियो । अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरुले ठुलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म ।”

डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैर कानुनी रूपमा बस्न गाह्रो थियो । त्यसैले उनलाई गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्धार कार्यक्रम अन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो । त्यसपछि उनलाई नेपाल ल्याउने पहल सुरु गरिएको थियो ।

नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाहरूको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रियाहरू पुरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनीको) को जिम्मा लगाइएको छ । निज आमा तथा बच्चाहरूलाई काठमाण्डौमा सङ्घको राहत तथा उद्धार कार्यक्रमका स्वयंसेवकहरूले आवश्यक सहजीकरण तथा सहयोग पुर्‍याएका थिए ।

यसका लागि उपाध्यक्ष, गैर आवासीय नेपाली सघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सी. लगायतको अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी सहित फिल्डमा कार्यरत टिम, काठमाडौँ स्थित कार्यक्रमको टिम तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी लगायतले पहलकदमी लिएका थिए ।

उनलाई नेपाल ल्याउन आवश्यक कागजी प्रक्रियाका लागि फिल्डमा खटिएका गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्धार कार्यक्रमका युएईका संयोजक प्रवीण पोखरेलले भन्नुभयो, “बच्चाको बाबुको कुनै कागजपत्र नहुँदा जन्म दर्ता लगायतका अन्य आवश्यक प्रक्रिया निकै कठिन बनेका थिए, अर्कोतर्फ आमाको पनि भिसा सकिएको रहेछ, त्यसैले सम्पूर्ण कागजात बनाउनै लामो समय लाग्यो त्यसैले पनि उद्धारमा अलि समय लाग्यो, तर पनि समस्यामा परेका बच्चा र आमाको जीवन रक्षा गर्न पाउँदा खुसी लागेको छ । ”

डोल्मा लामा त एक प्रतिनिधि पात्र मात्र हुन् । विशेष गरेर वैदेशिक रोजगारीमा गएका महिलाहरूले यस्तै अन्य पीडा भोगेका कैयों कथाहरू छन् । वैदेशिक रोजगारमा गएका श्रमिकहरूले बेलैमा सचेत नहुने र सम्बन्धित निकायबाट समयमै आवश्यक समन्वय एवं सहयोगमा कमी भएमा आगामी दिनमा यस्ता समस्याहरू जटिल रूपमा देखा पर्ने निश्चित छ । सङ्घको राहत तथा उद्धार कार्यक्रमले कोभिड–१९ का कारणले समस्यामा परेका मध्यपूर्वका विभिन्न देशहरू तथा मलेसियामा रहेका झन्डै १९हजार भन्दा बढी नेपाली श्रमिकहरूलाई सम्बन्धित गन्तव्य देशहरूमा खाना तथा सेल्टरको व्यवस्था, जरिवाना तिरिदिने, हवाई टिकट, पिसिआर परीक्षण, टेलिस्वास्थ्य तथा सामान्य स्वास्थ्य सहयोग तथा नेपाल फर्के पछि सकुशल आ–आफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत बेहोरिएका छ । सङ्घले यस कार्यमा सम्बन्धित देशका दूतावासहरू, सरोकारवाला निकायहरू तथा नेपालमा सम्बन्धित निकायहरूसँग समन्वय गरी यस प्रकारको मानवीय कार्यमा सहयोग पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू