अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

अमेरिकी सिनेटमा डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक रिपब्लिकनले रोक्यो

बिआरटीनेपाल २०७८ असार ९ गते १:५६ मा प्रकाशित

अमेरिकी माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयकमा रोक लगाएको छ । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् । राष्ट्रपति जो बाइडेनको समर्थन तथा उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयक पारित हुन नसकेको हो ।

विधेयकको पक्षमा ५० र विपक्षमा ५० (सम्पूर्ण रिपब्लिकन) मत परेको हो । १० सिट रहेको सिनेटबाट विधेयक पारित हुन ६० सदस्यको समर्थन चाहिन्छ ।पक्षधरहरुले सन् १९६५ को भोटिङ्ग राइट एक्टपछिको सबैभन्दा बिस्तारित र मताधिकार सुनिश्चित गर्ने व्यवस्था विधेयकमा रहेको छ ।राष्ट्रपति बाइडेनले निर्वाचन कानून सम्बन्धी विषय आफ्नो प्रशासनको मुल मर्म रहेको बताउँदै आएका छन् । तर केही डेमोक्र्याटहरुले चाहिने जति प्रयास नगरेको आरोप बाइडेनमाथि लगाउँदै आएका छन् ।

गत मार्चमा तल्लो सदनबाट सो विधेयक पारित भएको थियो । एक डेमोक्र्याटसहित सबै रिपब्लिकनले तल्लो सदनमा विधेयकको विपक्षमा मत दिएका थिए ।अग्रिम मतदानलाई बिस्तार गर्नुका साथ चुनावी खर्चलाई लिएर थप पारदर्शिता कायम गर्ने तथा संसदीय जिल्ला निर्धारणमा दलगत प्रभावलाई सीमित गर्ने व्यवस्था विधेयकमा रहेको डेमोक्र्याटले उल्लेख गरेका छन् ।

अश्वेत सहितको मताधिकार थप सुनिश्चित गर्ने लक्ष्यसहित डेमोक्र्याटिक पार्टीका सांसदले ९०० पृष्ठ लामो विधेयक तयार पारेका थिए ।तर रिपब्लिकनहरुले राज्यहरुको अधिकार खोसेर केन्द्र सरकारले नियन्त्रण कायम गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् । राजनीतिक रुपमा पूर्ण रुपमा डेमोक्र्याटहरुलाई सहज बनाउने उद्देश्य विधेयकको रहेको आरोप रिपब्लिकनको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू