अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

बालापन र जुनकिरी महाकाव्य

युवराज मैनाली २०७८ असार ८ गते ८:४१ मा प्रकाशित

समीक्षात्मक विवेचनाः

अन्य साहित्यिक विधा जस्तै महाकाव्य विधाको इतिहास पनि अत्यन्त  पुरानो छ । सृष्टिको सुरु नै शब्द ब्रह्मको लय र छन्दमा आधारित थियो भन्ने मान्ने प्रचलन पनि स्वीकार गर्नै पर्ने हुन्छ । यिनै छन्द र लयका प्रभावसँगै संस्कृतमा रचना गरिएका रामायण महाभारत श्रीमद्भागवत लगायतका पौराणिक महाकाव्यहरूको पनि उत्तिकै महत्त्व रहन गएको छ ।

नेपाली साहित्यमा महाकाव्यको चर्चा भने उदयानन्द अर्याल (वि स.१८१२–१८९४) को पृथ्वीन्द्रोदयको निरन्तरताको थालनी देवकोटाको शाकुन्तल, समको चिसो चुल्हो सोमनाथ सिग्देलका आदर्श राघवका आ–आफ्ना विशेषतामा प्रखर मानिँदै गए । आज नेपाली साहित्यका महाकाव्यका सङख्या २६० का हाराहारीमा पुगेको अवस्था भेटिन्छ । यसले नेपाली साहित्यमा महाकाव्यको अत्यन्त न्यून सङ्ख्या भएको प्रस्ट पार्दछ भने यसको कारण महाकाव्य रचनामा आउने जटिलता,कठिनता र निर्विघ्न तपस्या – साधनालाई मान्नुपर्दछ । यस्ता कठोर परिस्थितिको सामना गर्दै सन्दर्भ चर्चामा आएका कवि बाजुराम पौडेलद्वारा रचित पहिलो बालमहाकाव्य “जुनकिरी” बारे सामान्य विवेचना गर्ने प्रयास गन्छि ।

वि सं. २०१० चैतमा काठमाडौँको गोकर्ण जगडोल, र हाल गोकर्णेश्वर –८ बेंसीगाउँका कवि बाजुराम पौडेल वि सं .२०२५ मा लेखनारम्भ गरी २०३३ देखि रचना प्रकाशनमा लागेर ‘सिर्जना फस्टाउनु पर्छ’ खण्डकाव्य २०५१, ’बाजुरामका कविताहरू ‘कविता सङ्ग्रह २०६५ शीत–स्वर्ण कविता सङ्ग्रह २०६८ ‘शान्ता श्री ’ महाकाव्य २०७३ ’जियालो ‘संयुक्त महाकाव्य २०७३ ‘उनी उर्मिला ‘महाकाव्य २०७५ हुँदै महाकाव्यमै समर्पित उनको भावनाले ‘जुनकिरी’ बाल महाकाव्यको रचना गरी प्रकाशोन्मुख रहेको छ ।

उनको यस कृतिको चर्चा गर्नुअघि उनका केही वैशिष्ट्य गुणहरूको चर्चा सान्दर्भिकता देखिन्छ । कविता रचनामा उनी लेखनाथ, देवकोटा, माधव घिमिरे आदिलाई आफ्नो उत्प्रेरक र गद्य विधामा लैनसिंह वाङदेल, गुरुप्रसाद मैनाली रमेश विकल लगायतका अग्रज स्रष्टाहरूलाई प्रेरणा श्रोत ठान्दछन् । आफ्ना अग्रज स्रष्टालाई अत्यन्त आदर र अन्य सबै स्रष्टालाई सम्मानभाव राख्ने उनले २०६६ मा सुरभि स्रष्टा परिचयमा १७० जना स्रष्टालाई एकैसाथ ल्याउने काम गरेबाट पनि यो कुराको सार्थकता भेटिन्छ । कवितामा मात्र होइन उनका गद्यलेखन पनि उत्तिकै सुन्दर छन् भन्ने उदाहरण यस स्रष्टा परिचयबाट र आफ्नै आत्मवृतान्त ‘भन्ज्याङ र चौतारी ’२०६९, ‘निशा  ’उपन्यास २०७६ र सुरभि साहित्य प्रतिष्ठानको अध्यक्ष भई मासिक आख्यान वाचन कार्यक्रम सञ्चालन र सुलेख साहित्यिक मासिकको प्रकाशन र सम्पादन समेत गर्दै आएका उनले सुरभि–बाजुराम आख्यान साधना पुरस्कार कोष रु २ लाख समेतको स्थापना गरेका छन् । उनको सत्कर्मले यी सबै कार्यको सराहना गर्दै आएको छ । यिनै कार्यहरूले उनलाई बहुआयामिक व्यक्तित्वको रूपमा चिनाउन मद्दत गरेको छ भने महाकाव्यको पृष्ठभूमिमा  समकालीन महाकाव्यकारमध्ये एक उल्लेखनीय महाकाव्यकारका रूपमा देखा पर्दछन् । उनले यस महाकाव्यमा संक्षिप्त स्वरूपको नयाँ प्रयोग गर्न खोजेको पाइन्छ ।

बाजुराम पौडेलका प्रकाशित महाकाव्य ‘शान्ता श्री’ र ‘उनी उर्मिला’ यथार्थ नारी प्रधान महाकाव्य हुन् । शान्ताश्रीमा पति हराएर विक्षिप्त बनेकी नारीको सङ्घर्षपूर्ण जीवन र उनी उर्मिलामा आत्मोन्नति  र सामाजिक प्रतिष्ठा अभिवृद्धिका लागि सङ्घर्षशील जीवन बाँचेकी  नारीको अयार्थ कथा छन् भने बाल्यावस्थाका वर्णनमा यी दुवै महाकाव्यले राम्रै सफलता हासिल गरेको छ । अर्को संयुक्त महाकाव्य जियालोमा पनि उनको भागमा परेको चौथो सर्गमा त्यस्तै बाल्यकालीन अवस्थाको सुन्दर वर्णन पाइन्छ । प्रस्तुत महाकाव्य ‘जुनकिरी’ पनि नारी प्रधान काव्य भएकोले महाकाव्यकारले नारी पात्रलाई विशेष महत्त्व दिएको पाइन्छ । सबैजसो महाकाव्यमा नारीसँगै रहने बाल्य चरित्रको बाल्यकालीन स्वभाव र जिज्ञासाका सुन्दर प्रस्तुति छन् । बालमनोविज्ञानको सूक्ष्म र तिनकै अन्तर्वेदनाका अभिव्यक्ति यस जुनकिरीमा अझ सशक्त र मामिर्क ढङ्गले  वर्णन गरेको पाइन्छ ।

जे होस्,  प्रस्तुत बालमहाकाव्य ‘जुनकिरी’ मा प्रभात बालपात्रको शैशवकालदेखि नवकिशोरावस्थासम्मको वर्णन र उसकी आमा जुनकिरीको सिङ्गो जीवन वृत्तान्त देखा पर्दछ । यो महाकाव्य नौ सर्गमा विभक्त छ । यसमा बालजगत्ले रुचाउने सवाई र बालोरी छन्द समेत १६ वटा छन्दहरूको प्रयोग पाइन्छ । महाकाव्य शास्त्रीयतामा आधारित छ । सर्ग अन्त्यको सङ्केत र नयाँ सर्गमा आउने घटनाका सङ्केतको वर्णन शास्त्रीय रीत अनुसार भएको पाइन्छ । उस महाकाव्यमा वीर रौद्र बीभत्स,करुण आदि रसले युक्त र शृङ्गार रसको रमरम मात्र पाइन्छ । रीति र अलङ्कारको समुचित प्रयोगले काव्य पठनीय बनेको पाइन्छ । राष्ट्र जनता र राष्ट्र्यिताको भावना छायामा परेको र  राज्यव्यवस्था र राजनीतिक वादले देशका नागरिकलाई स्वतन्त्र जीवन बाँच्न नदिएको मार्मिक कथा नै यस महाकाव्यको मूल विषयको रूपमा देखा परेको छ । काठमाडौँको तारेभीरमा जन्मिएकी जुनकिरी पश्चिम नेपालको सल्यानका दीपकसँग वैवाहिक सम्बन्धमा सुखद जीवन बाँचिरहेको देख्न नसक्ने एउटा वर्गले उसकै आँखा अगाडि आफ्नो पतिको हत्या गर्दछ । साथमा भएको नवजात शिशुलाई छोडेर ऊ त्यस सङ्घर्षमा संलग्न हुन सक्दिनँ, आँखा अगाडि आफ्नो प्राण प्रिय पतिको बीभत्स हत्याको राँकोले उसको जीवन सताउँछ तापनि त्यस शिशुको लालन पालनमा समर्पित बनेकी जुनकिरीको भयावह सङ्घर्षको  अभिव्यक्ति कालान्तरमा आफ्नो छोरो प्रभात बन्दछ । आफ्नो बाबुको निर्मम हत्या र आमाले भोगेका दुःख कष्टका बदला स्वरूप नवकिशोरावस्थामा एउटा अभियानमा लाग्न चाहने छोरालाई रोक्न सक्दिनँ । जुनकिरी फेरि एउटा अप्रत्याशित बिछोडको जीवन बाँच्न बाध्य बन्दछे । महाकाव्यको समाप्ति यसरी नै हुन्छ  ।

यस कृतिका पाठको मनले काठमाडौँदेखि सल्यानसम्मको स्थान तथा परिवेशको परिदृश्य पाउँदैन । भूगोलमा पाइने तारे भीर र सल्यानको काल्चे उस्तै होलान् तर त्यसबिचको दृश्यले हवाईजहाजमा यात्रा गरेको मात्र बुझिन्छ । त्यसबिचका केही रमणीय र चर्चित स्थलको पनि सामान्य वर्णन भइदिएको भए महाकाव्य अझ सुन्दर बन्दथ्यो कि ?

महाकाव्यमा लेखकले सरल शब्दको प्रयोग गर्न चाहेर पनि छन्दका नियम र महाकाव्यका स्वरूपका कारण कतैकतै बाल मस्तिष्कले आफै बुझ्न नसक्ने अवस्था देखा पर्दछ तापनि सिक्ने सिकाउने उद्देश्यका लागि छन्दका नियम र गणशङ्केत सहित प्रस्तुत भएको यो महाकाव्यमा बेग्लै विशेषता पाइन्छ । वि स. २०५२–२०६३ को तथाकथित जनविद्रोहको द्वन्द्वले सिर्जना गरेको विपदले  धनजनको अपूरणीय क्षति अस्तव्यस्त पारिवारिक र सामाजिक जीवनभित्र बालमनोविज्ञानको ज्वलन्त चित्रण यस महाकाव्यले गरेको छ । नेपाली साहित्यमा सम्भवतः पहिलो बाल महाकाव्यको रूपमा रहेको यो ‘जुनकिरी’ पठनीय र सङ्ग्रहणीय ठानेको छु ।

यस महाकाव्यमा प्रयुक्त केही श्लोकको उद्धरण यस प्रकार छन्:-
कलिला बालबालिकाका सुखद भविष्यको कामनामा कवि भन्दछन्–
हाँसुन् सधैँ सुख लिई कलिला मुहार
पाउन् अनेक बिपना अनमोल हार
छाउन् हिमाल चुचुरा कलिला बिहानी
चालुन् सबै पयर साइतसाथ नानी !( १।१ )

कलिला सन्तानको भविष्य सोच्ने जननीका उदात्त भावनाले व्यक्त हुने जिम्मेवारी र निःस्वार्थ स्नेहका परिसंवादका रूपमा कवि लेख्छन् –
बोकी बोकी खुवाउँछु बिहान र साँझ
दिनभरि जुटाउँछु तिम्रै लागि गाँस
जोगाउँछु भोलि पर्सि तिमी बस्ने बास
तिम्रो लागि मै हूँ तिमी मैले बाँच्ने आस । (१।३८)

आमाका दैनिकी र तिनका दायित्व बेहार्ने आमाका मन कसरी सन्तानप्रति समर्पित बन्दछन् भन्ने दृष्टान्तका बोलीमा कवि वर्णन गर्दछन् ।
सुताएर घरधन्दा भर्न लाग्छिन् पानी
जानेकी छिन् सुताउने उठाउने बानी
सन्तानको पेट भरी त्यही सुख ठानी
त्यसैले त बनिन् आमा  ममताकी खानी !(१।५०)
अबोध बालपनलाई  पवित्र कर्ममा लगाई एउटा समय  प्रतीक्षाको आशावादी क्षणमा यसो भनेको पाइन्छ –
बाबु बुबु खाने हो खाएपछि जाने हो
झारी बोकी पानीको पूmलबारी लाने हो
फुलसँग काँडाको सम्बन्ध र रहर
बुझेपछि घुमेर बढ्छ तिम्रो उमेर ।(२।३४)

सिकाउँछिन् आमाले त्यो छोराको मायाले
घाम छेक्छिन् शीतल बनाउँदै छायाले ।(२।३३)

आमा छोराका साथमा हुने गरेका एउटा अवस्थाको चित्रणमा कवि लेख्छन् –
छोरो दलानमा बस्दै पढ्दथ्यो, चित्र लेख्दथ्यो,
रङ्ग पोतेर रेखामा नौलो आकाश देख्दथ्यो
एउटा पाठ घोकेर आमालाई सुनाउँथ्यो–
‘बिरामी भोकले मर्दा सर्वहारा कता थियो ?(३।८)

व्याकुल र व्यथित मान्छेभित्रको अन्तर्वेदना कसरी आफैँ बोल्न सक्षम बन्दछ ? भन्ने दृष्टान्तले बिरामी रोगेले हैन भोकले मर्छ भने त्यो देशको शासन व्यवस्था राज्यव्यवस्था र जनताका हितका लागि भनेर जनआन्दोलनका ढ्वाङ फुक्ने कथित नेतृत्व र वादलाई कडा व्यङ्ग्यको रूपमा  सोधिएको प्रश्नको जवाफ कसले दिने ?

आफैभित्र जवाफ खोजिरहेकी जुनकिरीका दिन यसरी बित्छन् होला –
भर्खर छायो आज प्रभाती आमासँगको लागि साथ
छर्छ उज्यालो दीपक–गाथा मागी आमासँगकै हात
जुनकिरीमा छैन आशा पाप थुपारी गर्ने राज
वीर बनोस् निर्झर छाल उठी प्रकट बनाई त्यो दिन आज ।(४।६)
आफ्नो पतिको अन्तिम संस्कारको वर्णनमा जुनकिरी भन्छे–
म चिराक लिएर फनक्क घुमेँ
अनि दीपकको मुख राखिदिएँ
जति जे भनिए सब पूर्ण गरेँ
अनि हुर्हुर लास जल्यो म ढलेँ ।५।९)

प्रभात बढ्दै जान्छ । समयका विषाक्त गतिरोधबाट पार हुँदै हुर्केको प्रभातमा जुनकिरीले सुशिक्षा र संस्कार दिएकी छे । त्यसैले प्रभात भन्छ–
म चढ्दैछु त्यो लेक हेर्ने तराई
म झर्नै छ बेँसी नमानी पराई
पहाडी कुनामा छ रे धुन्धुकारि
मुमा सुन्नुहोस् लौन आँखा उघारी । (६।१५)

समय धेरै बितिसकेको थियो । जीवनमा धेरै अनपेक्षित कालखण्ड देखा पर्दछन् भन्ने बुझेका महाकाव्यकारले जीवनलाई वियोग र बिछोडका क्षणमा पनि बाँच्न एउटा आशाको त्यान्द्रो छोड्दै भनेका छन् –
घोर्ले पाखो टुलुटुलु यतै हेर्दथ्यो साथ भर्न
भित्ते खोलो कुलुकुलु बगी खोज्दथ्यो बात गर्न
भन्ज्याङैले सुप्रवल प्रभा ल्याउँदै भन्छ आज–
“झुल्केला हो ! झिलमिल हुँदै भोलि तिम्रो प्रभात ।“( ९।४६)

सबैलाई मन पर्ने जुनकिरी र बालकमा हुने भावनात्मक तादात्म्यमा यस महाकाव्यले जीवनजगत्को सुन्दर पक्षको चित्रण गरेको छ । प्रकृति र मानव जीवन अनि मान्छे र मान्छेका विकृत सोचले  विस्थापित जीवनबोध गराउन  राम्रो प्रयास भएको पाइन्छ । यस महाकाव्यले सङ्घर्ष पनि सिर्जनात्मक हुनुपर्दछ, विनाशका लागि हुने आन्दोलन र सङ्घर्षले मानवजीवनको हित गर्दैन भन्ने प्रयोगको यथार्थ चित्र प्रस्तुत गरेको छ ।

यसरी समाप्त भएको यस महाकाव्यमा विगत १२ वर्षे द्वन्द्वकालले मारेका र मरेतुल्य बनेका लाखौँ नेपालीको प्रतिनिधि पात्र जुनकिरी र प्रभातको जीवनमा भएको क्षतिको जिम्मेवारी दिलाउने अभियानमा लागेको नवकिशोरको मनले मानवतावादी सबैको मन छुन सक्षम बनेको छ । यो  पहिलो बालमहाकाव्यलाई नेपाली साहित्यमा राम्रै उपलब्धि मान्न सकिन्छ ।

०००

धुम्बाराही, काठमाडौँ