अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

संगीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको संगीत विभागद्वारा वार्षिक याेजना सार्वजनिक

बिआरटीनेपाल २०७८ असार ३ गते ६:३७ मा प्रकाशित

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आव २०७८/०७९ मा विभागद्वारा सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । विभागका प्रमुख प्राज्ञ अशोककुमार राईले आव २०७८र०७९ मा आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चारओटा विशेष महत्वका कार्यक्रमहरू सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयाे ।

प्राज्ञ राईका अनुसार यस वर्ष मुलुकका सातओटा मध्ये चाओटा प्रदेशमा नेपाली मौलिक लोकबाजाहरू वाद्यवादनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिने छ । दक्ष लोकबाजा वाद्यवादक तयार गर्ने उद्देश्यले पहिलो चरणमा सञ्चालन गरिने यो प्रशिक्षणमा प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक ज्ञान दिनुका साथै सम्बन्धित बाजाहरूको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा समेत ज्ञान प्रदान गरिने छ ।

बाजा बनाउने प्राविधिका साथै व्यावसायिक वाद्यवादक हुनका लागि चाहिने आधारभूत ज्ञान पनि दिइने छ । यस योजनाअन्तर्गत यस वर्ष सनाई, सारङ्गी, मुर्चुङ्गा, बिनायो, पियुङ, टुङ्ना, डम्फु, धिमे, च्याब्रुङ, राई ढोल, धिमाल ढोल, मादल, बाँसुरी र ढोलक वाद्यवादनसम्बन्धी प्रशिक्षण चलाइने छ ।यसैगरी गण्डकी प्रदेशमा रहेका गन्धर्व समुदायका धार्मिक तथा विभिन्न संस्कार–संस्कृतिमा बजाइने धुनहरूको सङ्कलन तथा रेकर्डिङ गरी अभिलेख राखिनेछ । सोको पृष्ठभूमिसहित बृत्तचित्रसमेत बनाइने छ ।

लुम्बिनी प्रदेशमा रहेका मौलिक लोकबाजाहरूका इतिहास, परम्परा र ती बाजा बजाउने सम्बन्धित जाति तथा समुदायका धार्मिक तथा सांस्कृतिक पक्षका साथै हालको अवस्थाको समेत चित्रण गरिने बताइएकाे छ।  त्यस्तै, लिम्बू जातिमा प्रचलित एकराते तङ्सिङ र राई समुदायको मृत्यु संस्कारसँग सम्बन्धित मुन्धुमी सङ्गीतको अभिलेखीकरण पनि गरिन लागेकाे जनाइएकाे छ ।

प्रतिक्रिया