अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

अविरल वर्षा र बाढीपहिराेका कारण १० जिल्लामा ठूलाे क्षति

बिआरटीनेपाल २०७८ असार २ गते ३:०४ मा प्रकाशित

अविरल वर्षाका कारण उत्पन्न बाढी तथा पहिराेमा परी देशभर मानिसको मृत्यु तथा बेपत्ता हुने क्रम जारी छ । बाढी र पहिराेका कारण अहिलेसम्म दश जिल्ले विशेष प्रभावित भएकाे छ । बाढी र पहिराेका कारण पाल्पा, सिन्धुपाल्चोक, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन, नवलपुर र बाजुरासहित दश जिल्लाका केही स्थानहरुमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीका कारण विभिन्न स्थानहरु डुबानमा परेका छन् ।

पाल्पाकाे रिप्दीकोट गाउँपालिका ४ सिलाङ्थोकस्थित मन्छिपका महेन्द्र भट्टराईको घरमा मंगलबार साँझ पहिरो जाँदा उनका छोरा १९ वर्षीय मदन भट्टराइको पहिरोमा पुरिएर मृत्यु भएको छ । उनको घरमा पहिरो गई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले घाइतेको उद्वार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ। पहिरोबाट महेन्द्रको घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ ।

यसैगरी, पाल्पा, तानसेन नगरपालिका ८ जरेपिपलस्थित सिद्दार्थ राजमार्ग, तानसेन नगरपालिका ८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्ग र रिप्दीकोट गाउँपालिका ३ हार्थोक नजिक पाल्पा–गुल्मी सडकखण्डमा अबिरल वर्षाका कारण मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका २ स्थित मेलम्ची खोलामा मंगलबार आएको बाढीले सोही गाउँपालिका १ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका ७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल बगाएको छ । साथै हेलम्बु गाउँपालिका २ किउल बस्ने ३१ वर्षीय माधव भण्डारीसहित ७ जना सम्पर्कमा नरहेकाले प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।

मनाङकाे चामे गाउँपालिका ४ र नासो गाउँपालिका ३ स्थित अबिरल वर्षाका कारण मंगलबार दिउँसो आएको बाढीले चामे गाउँपालिका ४ मा रहेको जिल्ला हुलाक कार्यालयको भवन, ६ वटा घर, सोही ठाउँस्थित रहेको घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल, निमार्णाधिन आमा समूहको भवन पछाडिको भाग, २ वटा तातोपानी कुण्ड र नासो गाउँपालिका ३ बस्ने शेरबहादुर गुरुङको घर बगाएको छ । बाढी आई घरहरु बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले चामेका ३० घरका ३ सय जनालाई जिल्ला कारागारमा स्थानान्तरण गर्नुका साथै नासो गाउँपालिका १ का ४८ घरका ३ सय जनालाई सुरक्षित स्थानमा सारेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएकाे छ ।

लमजुङ, दोर्दी गाउँपालिका ८ हिलेबजारमा अबिरल वर्षाको कारण दोर्दी खोलामा मंगलबार दिउँसो आएको बाढीले चतुरे बिक लगायत ७ जनाको घर बगाउएको छ भने २ वटा घर जोखिममा परेका छन् । प्रहरी चौकी चितीको प्रहरीले घर परिवारलाऐ सुरक्षित स्थानतर्फ सारेको छ । साथै सोही गाउँपालिका ६ कृतिपुर बस्ने कृष्ण घलेको कुखुरा फर्म बगाउनुका साथै सुप्पर दोर्दी हाईड्रो पावरको ड्याममा समेत क्षती पुर्याएको छ ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका ३ फुतवाङस्थित गोरुसिंगे–सन्धिखर्क सडकमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएकाे छ।

गुल्मी, रेसुङगा नगरपालिका–१३ भगेरी भन्ने ठाउँमा मंगलबार पहिरो झरी रिडी तम्घास सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

मकवानपुर, भिमफेदी गाउँपालिका ६ देउरालीस्थित हेटौंडा भिमफेदी कुलेखानी सडक–खण्डमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

चितवन, भरतपुर महागरपालिका–३ बारघरे, सोही महानगरपालिका–१६ गुम्बाचौर र झनझनेस्थित अविरल वर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा बारघरेको ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बाचौरको ३० घरधुरीलाई सुरक्षित स्थानतर्फ स्थान्नतरण गरेको छ ।

नवलपुर, गैंडाकोट नगरपालिका २ बोटे टोलमा नारायणी नदीमा मंगलबार राति आएको बाढी पस्दा प्रभावित भएका करिब १ सय ५० घरधुरीका परिवारलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ स्थान्तरण गरेको छ।

बाजुरा, बुढीन्नदा नगरपालिका ४ बस्ने जयबिर धामी र मने रोकायाको घर सोही ठाउँस्थित घोडाकोटी खोलाले कटान गरी बगाएको छ । उक्त घरका परिवार र जोखिममा रहेका १३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराकाे भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू