अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

सातै प्रदेशकाे बजेट सार्वजनिक, काेराेना राेकथाम प्रमुख प्राथमिकता

बिआरटीनेपाल २०७८ असार १ गते ९:१७ मा प्रकाशित

देशका सातै वटा प्रदेशले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक बजेटमा कोरोना रोकथामलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख रुपैयाँ र पुँजीगततर्फ १४ अर्ब पाँच करोड ३५ लाख रुपैयाँ विनियोजन गर्नुभएको हो ।

प्रदेश १ सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आउँदो वर्ष स्वास्थ्यतर्फ तीन अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सबैलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने घोषणासहित सरकारले कोभिड रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । कोरोना नियन्त्रणका लागि सरकारले ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सार्वजनिक गर्नुभएको बजेटमा कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिन्डर, रेम्डेसिभिर, कोरोना परीक्षण गर्ने किटलगायत स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमार्फत प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरिद गर्न १९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै वाग्मती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड नाै लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब रुपैयाँभन्दा धेरैको बजेट सार्वजनिक गर्नुभएको हो । वाग्मती प्रदेश सरकारले बजेटमार्फत सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि दुई अर्ब रुपैयाँ बजेट छुट्याएको छ । ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’ मार्फत केन्द्र सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन दुई अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको हो ।

यस्तै कोभिड—१९ का कारण आमाबाबु दुवै गुमाएका बालबालिकालाई पालिकासँगको सहकार्यमा मासिक तीन हजार रुपैयाँ शैक्षिक तथा सामाजिक भत्ता दिइने घोषणा भएको छ । यस्तै कोभिड–१९ बाट अर्थतन्त्रमा परेको प्रभावलगायतलाई मध्यनजर गर्दै वाग्मती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब तीन करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गर्नुभएको बजेटमा कोभिड–१९ र स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकता दिइएको छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेश सरकारले चालुतर्फ २४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । यो प्रदेशले कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नति गर्न २५ करोड रुपैयाँ विनियोजन भएको छ ।

यसैबीच कर्णाली प्रदेश सरकारले साढे ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारले पनि कोरोना नियन्त्रण तथा रोकथामसहित स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारको आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब रुपैयाँको बजेट ल्याएको छ । यो वर्षभन्दा आउँदो वर्षका लागि झन्डै तीन अर्ब घटाएर बजेट सार्वजनिक भएको छ ।

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न दुई अर्ब ४२ करोड ५८ लाख र कोरोनालगायत महामारी रोकथाम र उपचारका लागि ९० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू