अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सद्वारा नेपालको कोभिड राहतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई ९० हजार डलर बराबरको सहयोग

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ८:३० मा प्रकाशित

अमेरिका स्थित नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले नेपालको कोभिड राहतका हाल सम्म लागी करिब ९० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ। जस मध्य ५० हजार नगद र ४० हजार बराबरका ५ ओटा भेन्टिलेटरहरू रहेका छन्।

नेपालका विभिन्न अस्पतालहरुमा आवश्यक सहयोगका लागी नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले हिजो शनिवार मात्र महावीर पुन प्रमुख रहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई $२० हजार अमेरिकी डलर र करिब $४० हजार अमेरिकी डलर लागतका ५ Ventilator हरू (२ नयाँ पोर्टेबल र ३ ट्रेनिङका लागी) हस्तान्तरण गरेको छ । सो अवसरमा च्याम्बर र आविष्कार केन्द्रका बिच बिचमा एक सम्झौता पत्रमा पनि हस्ताक्षर भएको थियो । च्याम्बरमा सभापति बाल जोशी र आविष्कार केन्द्रका प्रमुख महावीर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

नेपालमा कोभिडको दोस्रो प्रकोप सुरु भए पछि नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले अमेरिकामा सहयोग सङ्कलन अभियान सुरु गरेको थियो। सहयोग सङ्कलन अभियानका संयोजक सुरेश पोख्रेलका अनुसार च्याम्बरले मुख्यरुपमा नेपालमा झापाको बिर्तामोड, मेची अञ्चल अस्पताल, बाराको कलैया अस्पताल, गुल्मीको धुर्कोट स्वास्थ्य केन्द्र, बाँकेको भेरी अञ्चल अस्पताल, कैलालीको टिकापुर अस्पताल, सुर्खेतको पंचपुरी नगरपालिका तथा सालकोट स्वास्थ्य केन्द्र र अछाम जिल्लाका विभिन्न गाउँपालिका स्थित स्वास्थ्य केन्द्रहरूमा सहयोग गरेको छ।

यसै गरी बाँकेको नेपालगन्ज नगरपालिकामा निर्माणाधीन ‘आइसोलेसन सेन्टर’ का लागी च्याम्बरले नेपाली समाज टेक्ससको सहयोगमा १० लाख नेपाली रुपैयाँको सहयोग गरेको संयोजक पोख्रेलले जानकारी दिए ।

च्याम्बरले नेपाल स्थित बागेश्वरी असल शासन क्लब र भेरी अञ्चल अस्पतालसँगको समन्वयमा र टेक्सस नेपाली मेडिकल एसोसिएसनको सहयोगमा भेरी अञ्चल अस्पतालका कोभिड बिरामी र उनीहरूका परिवारका लागी २४/७ सहयोग गर्न एक सहायता कक्षको समेत स्थापना गरेको छ।

च्याम्बरले सुरु गरेको कोभिड राहतमा अमेरिका स्थित नेपाली र अन्य समुदाय लगायत नेपाली समाज टेक्सस, टेक्सस नेपाली मेडिकल एसोसिएसन, एभन्ट फाउन्डेसन, पुण्य फाउन्डेसन लगायतका संस्थाहरूले आर्थिक सहयोग गरेका थिए ।

संस्था स्थापनाको छोटो अवधि भित्रै विभिन्न परिमाण मुखी काम गरेर समुदायमा आफ्नो परिचय र औचित्य स्थापना गर्न सफल रहेको अमेरिका स्थित नेपाली ब्याबसायीहरुको संस्था नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सको अनुरोध स्विकारेर नेपालको कोभिड राहतका लागी सहयोग गर्ने सबै सङ्घ-संस्था तथा समस्त समुदायप्रति कृतज्ञ भएको बताउँदै संस्थाकी कोषाध्यक्ष स्मृति कार्कीले सहयोग गर्ने सबैमा आभार व्यक्त गरेकी छिन्।

प्रतिक्रिया