इङ्ल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खला न्युजिल्यान्डले जितेको छ । बर्मिङ्घममा आइतवार दोस्रो तथा अन्तिम टेस्टमा इङ्ल्यान्डलाई आठ विकेटले हराउँदै न्युजिल्यान्डले शृङ्खला जितेको हो ।
दोस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो पारीमा तीन सय तीन रन बनाएको थियो । इङ्ल्यान्डका लागि राेरी बर्न्सले ८१ र ड्यानियल लरेन्सले अविजित ८१ रन बनाए । त्यस्तै डाेमिनिक सिब्लेले ३५ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बाेल्टले चार, म्याट हेनरीले तीन, अजज पटेलले दुई र निल वाग्नरले एक विकेट लिए ।
न्युजिल्यान्डले भने पहिलो पारीमा तीन सय ८८ रन बनाएको थियो । न्युजिल्यान्डका लागि विल याेङले ८२ रन बनाए भने डेभन कन्वे र रस टेलरले समान ८०/८० रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका स्टर्ट ब्राेडले चार, मार्क वूड र ओले पाेपले दुई/दुई, जेम्स एन्डरसन र ड्यानियल लरेन्सले एक/एक विकेट लिए ।
दोस्रो पारीमा इङ्ल्यान्ड मात्र एक सय २२ रनमा अलआउट हुँदा न्युजिल्यान्डले ३८ रनको सामान्य लक्ष्य पाएको थियो । इङ्ल्यान्डलाई कम रनमै राेक्न म्याट हेनरी र निल वाग्नरले तीन/तीन विकेट लिए भने ट्रेन्ट बाेलेट र अजज पटेलले दुई/दुई विकेट लिए ।
यसअघि भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । अब न्युजिल्यान्डले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारतसँग खेल्नेछ, यो प्रतियोगिता जुन १८ देखि सुरु हुँदैछ ।