अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

मन्त्रीको लिष्टमा छुटेपछि महेश बस्नेतको चित्त दुखाई

बिआरटीनेपाल २०७८ जेठ २७ गते ८:१६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासका पात्र मानिएका महेश बस्नेत मन्त्रीको लिष्टमा अटाएनन् । गृहमन्त्रीसम्मको चर्चा चले पनि महेशले अन्ततः कुनै पनि मन्त्रालय पाएनन् । ओलीको राजनीतिक मिशन पूरा गर्न सधैं फ्रन्टलाइनर बनेर खटिने बस्नेतलाई मन्त्रीको सूचीमा नदेख्दा उनी निकटहरु आश्चर्यमा परेका छन् । बस्नेतले पहिलोपटक अध्यादेश ल्याउनेताका मधेसबाट केही सांसदलाई अपहरण गरि ल्याउने, संसद विघटनपछि दलहरुमा देखिएको शक्ति प्रदर्शनका क्रममा ओलीको जनसभाका लागि मान्छेहरु काठमाडौं ओसार्ने र तिनको व्यवस्थापन गर्ने, साइवर सेनाको नाममा ओलीका हरेक कामहरुका प्रचार गर्ने, जसपाका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा लगेर बन्धक बनाउने जस्ता हरेक कामहरु गरेका थिए ।

त्यसकारण पनि ओलीले मन्त्रिपरिषद विस्तार गर्दा बस्नेतलाई महत्वपूर्ण मन्त्रालय दिने अनुमान धेरैले गरेका थिए । स्वयम् बस्नेतले सके गृह नसके सञ्चार भए पनि खाने मन गरेको उनी निकट स्रोत बताउछन् । गृहमा प्रधानमन्त्री ओली लगभग सहमत भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीको असहमति भएपछि ओली ब्याक भएको चर्चा छ । उनी गृहमन्त्री बने अपराधिक पृष्ठभूमिका कारण प्रहरी लगायतका सुरक्षा निकायमा पर्नसक्ने अप्ठ्यारो अवस्थालाई प्रधानमन्त्री ओलीले मध्यनजर गरेर पछि निर्णय गरेको अनुमान गरिएको छ ।

जम्बो मन्त्रिमण्डल गठन हुँदा आफू छुटेकोमा बस्नेतले अप्रत्यक्ष रुपमा ओलीसँग चित्त दुखाएका छन् । विहीवार सामाजिक सञ्जालमा लेख्दै पार्टी नीति, नेतृव र निर्देशन सदैब पालना गर्दा गर्दै पनि आफू छुटेकोमा उनले घुमाउरो अर्थमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले लेखेका छन्–”परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु । पार्टीभित्र मात्र होइन वाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको छु ”। आफूले आफ्नो निर्वाचन क्षेत्र भक्तपुरका आम जनता देशभरका एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको उनले जिकिर गरेका छन् । पटक पटकको मन्त्री मण्डलको पुनर्गठनमा आफ्नो नाम ब्यापक चर्चा हुने गरेको उनले उल्लेख गरेका छन् । आफूलाई मन्त्री बनाउन हुने र नहुने दुइटै खाले विचार पार्टीको नेतृत्वपंक्तिमा रहेको बस्नेतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू