अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

मन्त्रीज्यू झन्डा हल्लाउँदै अस्पतालबाट निस्कनुभयो

युवराज मैनाली २०७८ जेठ २६ गते ८:२१ मा प्रकाशित

लघुकथा
मन्त्रीज्यू निरीक्षण गर्न डबल माक्स लगएर झन्डा हल्लाउँदै अस्पताल पुगे ।

अस्पतालभित्र, कोरोना संक्रमित बिरामीहरू छटपटाइरहेका थिए । आफन्तहरू स्वयं अक्सिजन जुटाउन दौडधूपमा थिए । कोही अस्पतालकै फर्मेसिमा औषधी किन्ने लाइनमा निचोरिँदै थिए । निरिक्षण गर्न आएका मन्त्रीज्यूलाई डाक्टर–नर्सहरूले भन्न लागे– ‘हजुर, अक्सिजनको अभाव भएकाले बिरामीको उपचार गर्न सम्भव भइरहेको छैन । अस्पतालले अक्सिजनको जोहो गर्न सक्ने अवस्था रहेन । बिरामीसँगै कुरुवाले अक्सिजन समेत खोजी गरेर ल्याउनुपर्ने बाध्यता बढेर गयो । बेड भए पनि उपचार गराउन मुस्किल पर्‍यो हजुर ।’

मन्त्रीज्यूले यसो दुई–तीन मिनेट कुरो सुने झैँ गरे । सरकार अक्सिजन प्लान्ट खरिद गर्ने प्रक्रियामा रहेकाले एकदुई महिनापछि अक्सिजनको समस्या हट्ने बताए । त्यसका लागि आफूले सरकारी तवरबाट गर्नुपर्ने सारा काम गरिरहेको र टेन्डरको प्रक्रियामा पुगेकोले अक्सिजनको समस्या छिटै हल हुने आश्वासन दिए । त्यसपछि यसो एकैछिन कर्मचारी र डाक्टरका कुरा सुनेझैँ गरे तर बिरामी र बिरामीका कुरुवाको छेवै परेनन् । बरु मन्त्रीज्यू आफूलाई अन्यन्त हतारो देखाउँदै अस्पतालबाट बाहिर निस्कन लागे । तर ढोकामै आइपुग्दा उनले बाहिरको स्थिति तनावपूर्ण देखे । त्यहाँ नारा लागिरहेको थियो, ‘सरकारी व्यवस्थापन– मुर्दावाद ! बिरामीलाई अक्सिजन दे ! अक्सिजन दे ! ……सरकारी व्यवस्थापन– मुर्दावाद ! मुर्दावाद !!’

मन्त्रीज्यू हतार–हतार गाडी चढ्न तम्सिए । बाहिरको भीडले झनै आक्रोशित हुँदै गाडीमा इँटा–ढुङ्गा प्रहार गर्न लागे । धन्न, सुरक्षकर्मीले मन्त्रीलाई गाडीभित्र बसाउन भ्याए । मन्त्रीज्यूले बडो कुटिल भावमा गाडी छिटो बढाउन निर्देशन दिए, लाग्थ्यो न उनलाई पीडा थियो न त जनताको दुःख हेर्नुनै थियो । मात्र उनमा आक्रोश देखिन्थ्यो, कुटीलता झल्कन्थ्यो । गुडुडु… गाडी अघि बढ्न थाल्यो । तर, यसैबिच गाडीको झन्डा भने मन्त्रीसँगै जान मानिरहेको थिएन, ‘नाइँ, म जान्नँ । मलाई यिनीहरूको कुरा सुन्न देऊ ! यिनीहरूको दुःखबुझ्न देऊ !’ झन्डाको के लाग्थ्यो ! त्यो त गाडीमै बाँधिएको न थियो । दृश्य गजबको थियो । हुइँकिरहेको मन्त्रीज्यूको गाडीबाट उम्किन झन्डा उत्तिकै फहरिइरहेकै थियो, ‘नाइँ, नाइँ, म जान्नँ, म जान्नँ ।’

०००