अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

माओवादी द्वन्दको कथा समेटिएको पहिलो अङ्ग्रेजी उपन्यास “द घोप्ट इन द हिल्स” बजारमा

बिआरटीनेपाल २०७८ जेठ २४ गते ९:०३ मा प्रकाशित

मानवअधिकारकर्मी डाक्टर कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भसँग जोडेर “द घोप्ट इन द हिल्स”(The Ghosts in the Hills) नामक उपन्यास हालसालै प्रकाशित गरेका छन् । उक्त पुस्तकको kindle संस्करण र पुस्तक amazon मार्फत बजारमा उपलब्ध छ ।

यो पुस्तकमा माओवादी आन्दोलनको सन्दर्भमा एक जना बाल योद्धाको यात्राको वर्णन छ, युद्धोत्तर उनका सङ्घर्षको कथाको वर्णन छ। माओवादी आन्दोलनको बारेमा गरिएको अनुसन्धानमा आधारित यो उपन्यास दाङका थारुहरूको जमिन प्राप्तिको लडाइँ, दलितहरूको व्यथा र उनीहरूको कारुणिक जीवन, जनतामा आधारित पत्रकारिता आदिको सुन्दर साहित्यिक प्रस्तुति आएको छ। ३५० पृष्ट लामो उपन्यासमा एक जना दलित बालिकाको साहसिक यात्रा वर्णन गरिएको छ । कथा नेपालको दाङ जिल्लाको थारु र दलित बस्तीबाट सुरु हुन्छ र जनयुद्धको चरम उत्कट हुँदै जानकी पात्र हिजो राज्य विरुद्ध लड्दै आज आफ्नै भ्रष्ट नेताहरू विरुद्ध लड्नु परेको ह्रिदय विदारक छ। उपन्यासले नेपालको ग्रामीण बस्तीहरूबाट द्वन्द्व कसरी सुरु भएको थियो, समाजमा विद्यमान अत्याचार र विभेदले कसरी युद्द्लाइ मलजल गरेको थियो, युग परिवर्तन र रूपान्तरणको सपना बोकेर दलित पीडित र उपेक्षितहरू कसरी सहभागी भएका थिए र अन्तमा शान्ति वार्तापछि कसरी माओवादीका माथिल्लो तहका नेताहरू तल्लो तहका युद्धमा सामेल कार्यकर्ताहरूको व्यवस्थापनमा चुके भन्ने देखाइएको छ । लामो र त्रासद युद्धपछि पनि निश्चित वर्ग र समुदाय कसरी उपेक्षित रहिरह्यो र देशमा अस्थिरता कायमै रह्यो भन्ने कुरा उपन्यासमा रोचक तरिकाले देखाइएको छ ।

मानवअधिकार र कमैयामुक्तको छेत्रमा तीन दशक लामो अनुभव बटुलेका प्राज्ञिक व्यक्तित्व कृष्ण उपाध्यायले नेपालको आन्तरिक द्वन्दले कमैया थारुहरूमा परेको प्रभावका विषयमा बेलायतको युनिभर्सिटी अफ लन्डनबाट विद्यावारिधि गरेका छन् । आफू एक प्राज्ञ भएर पनि प्राज्ञिक पुस्तक नलेखी किन उपन्यास नै लेख्नुभयो भन्ने प्रश्नमा उनी भन्छन्, “मलाई लाग्यो, अनुसन्धान सर्वसाधारण मानिसहरूसँग पुग्नुपर्छ, उनीहरूले पनि त्यो अनुसन्धानबाट ज्ञान सोझै फाइदा पाउनुपर्दछ, त्यसले सोझै उनीहरूको धारणामा परिवर्तन गरोस, बिचार निर्माण गर्ने तल्लो तहका राजनीतिक मानिसहरूमा पनि त्यो खोजको विषय पुगोस्, स्कुले र कलेज पढ्ने भाइबैनीहरुको यस्ता विषयको बारेमा ज्ञान होस्, र केही ऐतिहासिक विषयमा भएको गलत बुझाइ पनि हटोस् भन्ने पनि चाहना मेरो रह्यो। यस्ता विषयहरूलाई त्यो समुदायमा पुर्‍याउने माध्यम साहित्य मात्र हुनसक्छ किनभने साहित्य रोचक भयो भने सबैले पढ्छन्, प्राज्ञिक प्रस्तुति प्राज्ञहरूको वरिपरि मात्र घुमिरहन्छ।”

उपाध्याय आफूले विद्याबारिधीको बेला गरेको अनुसन्धानलाई यसरी साहित्यिक रूप दिएर प्रस्तुत गर्दा निकै मिहिनेत गर्नु परेको बताउँछन् । उनी थप्छन् “तर त्यो काम मेरा लागि आनन्ददायक पनि रह्यो । उपन्यासका मुख्य विषयहरू सत्यमा आधारित छन्, विषय प्रस्तुति र व्याख्या भने काल्पनिक रहेका छन्।”

बेलायत निवासी साहित्यकार गोपी सापकोटा यो उपन्यास पढिसकेपछि प्रतिक्रियामा लेख्छन्, “हामीले समाचारपत्रहरूमा पढ्ने गरेका समाचारभित्रका यथार्थ घटनाहरूको चित्रण उपन्यासमा छ। यो उपन्यासले उतिबला थाहा नपाइएका अनेक विषयहरूलाई पनि मिहिन किसिमले उजागर गरेको छ। यो नेपाली समाजको हामीले भोगेको कालखण्डको लेखिनुपर्ने विषयमा लेखिएको उपन्यास हो ।”

यस अघि दुई वटा कविताका कृति प्रकाशित गरिसकेका डा. उपाध्यायले यो उपन्यास चाही किन अङ्ग्रेजीमा लेखे त? उनी भन्छन्, “मलाइ लाग्यो अङ्ग्रेजीमा लेख्दा हामी नेपाल सम्बन्धी केही भ्रमहरूको निवारण गर्न सक्छौ, र नेपालको अनुभव अरूतिर पनि काम लाग्ने हुनसक्छ। प्राज्ञहरूको घेराबाट बाहिरका मानिसहरूले यो उपन्यासबाट नेपालका घटनाहरूको सामाजिक, आर्थिक र सांस्कृतिक कारणहरू पनि जान्ने छन्। अङ्ग्रेजीमै लेखिए पनि एउटा नेपालीले नेपालको बारेमा लेखेको हुनाले नेपाली भाषाको साहित्य नभए पनि अङ्ग्रेजी भाषामा लेखिएको नेपाली साहित्य हो भन्ने लागेको छ।”

समाजशास्त्री डा. मिना पौडेल यो उपन्यास नेपाली जनयुद्धको बारेमा लेखिएको पहिलो उपन्यास भएको र यसले द्वन्दकालीन समयको ऐतिहासिक तथ्य, समाज र सामाजिक सम्बन्धहरूलाई मसिनो गरी बुझ्न सघाउने बताउँछिन् । आफ्नो पाठकीय प्रतिक्रियामा उनी लेख्छिन्, “यो उपन्यासले युद्धको प्रतिबिम्ब र आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेको छ। यो उपन्यासले बालबालिकाहरू तत्कालीन अवस्थामा किन र कसरी राज्य पक्ष, विद्रोही पक्ष र समाजको विद्यमान आर्थिक-समजिक-सांस्कृतिक अवस्थाको कारणले युद्धमा होमिन बाध्य भए भन्ने देखाएको छ। ” डा पौडेलको विचारमा यो उपन्यासमा इतिहासका तथ्यहरू र मनोविज्ञानलाई साहित्यिक किसिमले प्रस्तुत गरिएको छ ।

यो उपन्यासमा डा उपाध्यायले आफ्नो तीन दशक लामो द्वन्द्व र कमैया आन्दोलन सम्बन्धी पेसागत अनुभव, विद्याबारिधीको क्रममा भएका अनुसन्धान, आफ्नै राजनीतिक जीवन भोगाइको प्रतिबिम्ब समेतलाई साहित्यिक र कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्। स्वरै कल्पनामा लेखिने साहित्यभन्दा ऐतिहासिक विषयमा साहित्य लेख्नु चुनौतीपूर्ण कार्य हो । त्यसमाथि पनि बर्तमानका भोगाइहरूलाई सुललित र सन्तुलित तरिकाले प्रस्तुत गर्नु थप जोखिमपूर्ण कार्य हो । नेपाली माओवादी युद्धका विषयमा नेपालभित्र र बाहिर पक्ष र विपक्षमा विभाजित जनमत छ। यस्तो विषयमा तटस्थ रहेर प्राज्ञिक र आलोचनात्मक चेत सहित ऐतिहासिक उपन्यास लेख् नसक्नु डा उपाध्यायको विशेष खुबी भएको बताउँछन् उपन्यासका पुनरावलोकनकर्ता मध्यका एक डा ऋषि बस्ताकोटी । पुनरावलोकनकर्ता बस्ताकोटीको बिचारमा यो उपन्यास हामीले भोगेको समयको शाश्वत प्रतिबिम्ब र ऐतिहासिक दस्ताबेज समेत हो ।

पुस्तक प्रकाशनको एक महिनामा आफूले निकै सकारात्मक प्रतिक्रिया पाएको बताउँछ उपन्यासकार डा उपाध्याय । उनी भन्छन् “हुन् त नपढीकनै पनि यसको बारेमा अन्दाज लगाएर धारणा बनाउनेहरू हुन्छन् भन्ने लागेको थियो। माओवादी आन्दोलनसँग सम्बन्धित, त्यसको विरोधी मोर्चामा उभिएका नेपाली र गैह्र नेपाली पाठक, र विश्लेषकहरूबाट आएको प्रतिक्रियाले म निक्कै उत्साहित भएको छु। मैले पाठकहरूबाट निकै जिम्मेवारीपूर्ण प्रतिक्रिया पाइरहेकोछु । पाठकहरूबाट प्राप्त अनुसन्धानको धर्म, लेखनभित्रको साहित्यिक प्रस्तुति, भाषाको बहाव आदिबारे प्राप्त प्रतिक्रियाबाट म उत्साही छु। मलाइ आशा छ भविष्यमा नेपाल बाहिर बस्नेहरूले यसको चर्चा गर्नेछन्, र मातृभूमिको बारेमा वर्णित यो कथाको निष्पक्ष विवेचना हुनेछ । भर्खर प्रकाशित भएकोले धेरैले पढ्न पाउनु भएको छैन, त्यसैले अझ धेरै प्रतिक्रियाको पर्खाइमा छु। ”

नेपालका बालबालिकाको क्षत्रमा काम काम गरिरहेको बेलायती संस्था किडासाका कार्यकारी सदस्य समेत रहेका उपन्यासकार उपाध्यायले यस उपन्यासको बिक्रीबाट आउने आम्दानीको ५०% उक्त संस्था मार्फत नेपाली बालबालिकाको क्षत्रमा काम गर्नको लागि जाने बताउँछन् ।
अमाजनमार्फत खरिद गर्नको लागि लिङ्क:

BUY BOOK HERE

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू