अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

केटाकेटी, गुडिया र देश

असीम सागर २०७८ जेठ ९ गते १०:२५ मा प्रकाशित

आँगनमा निस्कन डराएर केटाकेटीहरू
खेलिरहेछन् घरभित्रै भाँडाकुटी
लुकामारी र ओकल दोकल

केटाकेटी न हुन्
छाड्यो भने माटोले समात्न जरा
छाड्यो भने पृथ्वीले आफ्नो लय
छाड्यो भने धर्तीमा पोखिन घाम
छाड्यो भने हावाले हल्लिन पात
के होला ?
सम्हालिन होइन
मात्र पोखिन जान्दछन् केटाकेटीहरू

बनाएर आफ्नै भाईलाई श्रीमान
बनेर आफू श्रीमती
मानेर गुडियालाई आफ्ना छोराछोरी
बनाएर गोलो चेप्टो ढुंगालाई पकाउने भाँडो
पस्केर केराका पातमा माटोको भात
जब बच्चालाई खुवाएर खाएको अभिनय गर्छन्
मलाई लाग्छ-
मात्र खेल्न जान्दछन् केटाकेटीहरु

केटाकेटी न हुन्
भोक लाग्यो भने
मात्र रुन जान्दछन् केटाकेटीहरू

एकदिन
खेल्ने बहानामा छोराले
घरलाई बनायो देश
मलाई बनायो प्रधानमन्त्री
आमालाई बनायो राष्ट्रपति
दाईलाई बनायो विदेश मन्त्री
काकालाइ बनायो मुख्यमन्त्री
बहिनीलाई बनायो रक्षामन्त्री
र आफू बनेर विपक्षी दलको नेता
सोध्यो बालाई प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यु !
यसरी आफू अनुकूल बनाएर सरकार
आफूखुसी चलाएर शासन
तपाईं घर बनाउनु हुन्छ कि देश ?

अनि
घरमा भएका थुप्रै गुडियामध्ये
एउटा गुडियालाई बनायो बेरोजगार युवा
अर्को गुडियालाई बनायो भोको मजदुर
अर्को गुडियालाई बनायो गरीब किसान
र यी सबैलाई समेटेर
केही गुडियालाई बनायो जुलुस
गर्यो आमसभा
र फेरि सोध्यो बालाई प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यु !
यी निमुखा जनताको पसिना चुसेर
तपाई शासन गर्नुहुन्छ कि शोषण ?

र खेलको अन्त्यमा
बनायो खेल्दै गरेको बरण्डालाई आर्यघाट
बनायो बाँकी गुडियालाई लास र मलामी
बा-आमाको अन्तिम मुख देख्न नपाएर
प्रवासमा बसेको भावविह्वल छोरोको अभिनय गर्दै
फेरि सोध्यो बालाई अन्तिम प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यु !
कतै खाना र उपचार नपाएर
जनता भोक, रोग र शोकले मर्ने भए
अब तपाईं कुन जनतामाथि गर्नुहुन्छ शासन
र कसरी चलाउनु हुन्छ देश ?

साँच्चै ! त्यतिबेला
म निक्कै भावुक भएथें
सम्झेर आफ्नो देश ।
*

सन्धिखर्क, अर्घाखाँची
हाल: लगनखेल, ललितपुर

प्रतिक्रिया