अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथ र मन्त्री नियुक्तिसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:४५ मा प्रकाशित

सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णयमाथि परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर निवेदनलाई भने अग्राधिकार दिन आदेश दिएको छ ।

केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शपथको व्यहोराअनुसार शपथ लिनुभएको थिएन । उहाँले राष्ट्रपतिले भनेको शब्द उच्चारण गर्न नमानी त्यो पर्दैनु भन्नु भएको थियो । प्रधानमन्त्रीको उक्त क्रियाकलापले संविधानको उल्लंघन भएको, राष्ट्रपति र राष्ट्रपति संस्थाको मर्यादामाथि आँच पुगेको भन्दै सर्वोच्च अदालतमा सोमबार ४ रिट निवेदन परेका थिए ।

जसमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो । त्यस्तै सांसद नरहेका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने पनि रिट निवेदनमा माग गरिएको थियो । गैरसांसदका रूपमा एकपटक मात्रै मन्त्री हुन पाउने भए पनि प्रधानमन्त्री ओलीले सात जना गैर सांसदलाई मन्त्री बनाएको भन्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित रिट परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू