अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

नेपाल सरकारलाई ५ सय ६० अक्सिजन सिलिन्डर हस्तान्तरण

बिआरटीनेपाल २०७८ जेठ ३ गते ९:५० मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५ सय ६० अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मध्यपूर्वमा रहेका नेपालीहरू एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा हिजो नेपाल ल्याएका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिन्डर आज एक कार्यक्रमका बिच सङ्घका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ ।

ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको हो । सिलिन्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गर्नुभयो । नेपालका विभिन्न स्थानहरूमा वितरण गर्न दाताहरूको अनुरोध सहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष पन्तले मध्यपूर्व देखि अक्सिजन सिलिन्डर नेपाल पुराउने अभियानमा विशेष पहलकदमी लिई हाम्रो हौसला बढाएर सहकार्य गर्नुहुने ओमानका महामहिम राजदूत शर्मिला पराजुली ढकालज्यू सहित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ओमानका सम्पूर्ण पदाधिकारीहरू, मध्यपूर्वमा रहनु भएका सङ्घका केन्द्रीय पदाधिकारीहरू, गैर आवासीय नेपाली सङ्घ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरू त्यहाँस्थित नेपाली सङ्घसंस्था लगायत मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरूप्रति आभार प्रकट गर्नु भयो ।

अध्यक्ष पन्तले कोभिड – १९ सङ्क्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र सङ्क्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरूले यस सङ्कटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताउनुभयो । सङ्घले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, सङ्घका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली सङ्घसंस्था तथा आम गैर आवासीय नेपालीहरूसँग सहकार्य गरिरहेको जानकारी समेत गराउनुभयो ।

सङ्घका संस्थापक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत् परेको बेलामा जहिले पनि गैर आवासीय नेपालीहरूले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताउनु भयो ।

माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री त्रिपाठीले सङ्कटमा समयमा सहयोग गरेकोमा सङ्घ प्रति हार्दिक आभार प्रकट गर्नुभयो । उक्त सिलिन्डर आवश्यकता अनुसार लुम्बिनी प्रदेश – २०० थान, सुदूर पश्चिम प्रदेश – १०० थान, कर्णाली प्रदेश १०० थान, प्रदेश नं २ – ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न मन्त्री त्रिपाठीले निर्देशन समेत दिनुभयो ।

यस कार्यक्रममा मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ, मध्यपूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मी, एनसीसी बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, एनआरएनए खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी लगायत मध्यपूर्व क्षेत्रका दाता तथा सहयोगीहरूका साथै सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू