अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान गर्न जानेले कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:२४ मा प्रकाशित

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान गर्न जानेले कोरोना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचनको दिन मतदानस्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड–१९ सङ्क्रमण भए÷नभएको पिसिआर परीक्षण गरेको रिपोर्ट ल्याउनुपर्ने अनिवार्य गरेको बताएको छ । कोरोना महामारीको जोखिम बढिरहेका बेला हुन लागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयंले स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।

आयोगले मतदानस्थलमा रहने सबै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको घेरामा रहेर काम गर्न ‘उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड–२०७८’ लागू गरेको छ । यस्तै मतदान केन्द्रमा तीनवटा बुथ राखिने छ । यसअघि दुईवटा बुथ मात्रै राखिन्थ्यो । कोभिड–१९ सङ्क्रमित मतदाता पनि हुनसक्ने अनुमानका साथ तीनवटा बुथ राख्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

मतदानको दिन मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पीपीई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । आउने जेठ ६ र जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू