अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

बजेट अधिवेशनका लागि संसद सचिवालय तयारी अवस्थामा, प्रि–बजेट छलफल भने नहुने

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:१८ मा प्रकाशित

संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर, अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।

सचिवालयले भने समय घर्किसकेकाले प्रि–बजेट माथि छलफल चलाउन नसकिने जनाएको छ । नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भए पनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बताउनुभयो । प्रवक्ता पाण्डेले कोभिड–१९ को महामारी तीव्र गतिमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर, भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने उहाँले बताउनुभयो ।

संविधान र संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रूपमा उपस्थित भएर बैठक सञ्चालन गर्नुलाई मात्र आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानूनी मान्यता दिने अवस्था नरहेको पाण्डेको भनाइ छ । तर, त्यस किसिमको अवस्था आएमा प्राविधिक रूपमा सचिवालय दुरुस्त रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू