अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

संसद् सचिवालयमा कोरोनाविरुद्धको खोपको दुरुपयोग

बिआरटीनेपाल २०७८ जेठ २ गते ७:०६ मा प्रकाशित

संसद् सचिवालय नयाँ बानेश्वरमा कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुरुपयोग भएको पाइएको छ । संसद् सचिवालयमा गएको शुक्रवार (अस्ति) देखि सांसद, संसद्का कर्मचारी, मर्यादापालक र संसद् हेर्ने पत्रकारका लागि भनेर दोस्रो डोजको खोप लगाउन सुरु गरिएको थियो । तर खोप लगाउन सांसदले नै आफ्ना मान्छे लैजाँदा खोपको दुरुपयोग भएको हो ।

संसदका एक कर्मचारीले भनेका छन्, ‘माननीयको गाडी चढेर आउनुहुन्छ, हामीलाई तपाईँ चाहिँ बाहिरै झर्नुपर्योे, खोप लगाउन पाउनु हुन्न भन्न पनि अफ्ठ्यारो । यसले गर्दा खोप वितरणमा अलि समस्या परेको हो ।’गएको फागुनमा पहिलो डोज लगाएका सांसद, संसद्का कर्मचारी, मर्यादापालक तथा पत्रकारका लागि दोस्रो डोज अस्ति, हिजो र आज दिने तयारीअनुसार संसद् सचिवालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा एक हजार चार सय ५० डोज खोपको व्यवस्था गरिएको थियो ।

त्यहीअनुसार अस्ति सांसदलाई, हिजो संसद्का कर्मचारी र पत्रकार तथा आज मर्यादापालकलगायत हिजो र अस्ति छुटेकालाई खोप दिने भनिएको थियो । तर सांसदले नै खोपको दुरुपयोग गरेको देखेपछि आज बिहानैदेखि त्यहाँ अन्य नागरिक पनि खोपका लागि पुगेका थिए ।

संसद् सचिवालयमा नै खोपको दुरुपयोग हुनु लज्जास्पद भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । संसद् सचिवालयले भने गलत बुझाइका कारण ज्येष्ठ नागरिकलगायत अन्यले दुःख पाएको प्रतिक्रिया दिएको छ । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले खोपको दुरुपयोग भइरहेको भन्दै सभामुख, संसद्का महासचिव र स्वास्थ्य मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू