अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

स्वास्थ्य सामग्री जुटाउन पहल गर्न विदेशस्थित सबै नियोगमा परराष्ट्र मन्त्रालयद्धारा पत्राचार

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:३२ मा प्रकाशित

कोरोना भाइरसको दोस्रो लहरका कारण मुलुकमा अक्सिजन ग्यास सिलिन्डरसहित अन्य अतिआवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरुलाई सम्बन्धित मुलुकसँग त्यहाँको अवस्था अनुसार सहयोग जुटाउनको लागि पहल गर्न निर्देशन दिएको छ । मन्त्रालयले आफ्ना सम्पूर्ण राजदूतावास र नियोगहरुलाई संकटको बेलामा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री जुटाउनको लागि निर्देशन दिइसकेको प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभएको छ ।

मन्त्रालयले वैशाख २३ गते विदेशस्थित नेपालका ३० राजदूतावास, तीन संयुक्त राष्ट्र संघीय स्थायी नियोग र ६ वाणिज्य दूतावासलाई सम्बन्धित मुलुकको अवस्था अनुसार सहयोगको लागि काम गन पत्राचार गरेको थियो । मन्त्रालयकै निर्देशन अनुसार बेल्जियमस्थित युरोपेली युनियन (ईयू) का लागि नेपालका राजदूत गहेन्द्र राजभण्डारीले ईयूसँग संवाद गरेर बुधबार नेपालको लागि २० लाख यूरो बराबरको आपत्तकालीन मानवीय अन्तरगत स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउने प्रतिबद्धता गराएको थियो ।

मन्त्रालयले जारी गरेको निर्देशनपछि ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले पनि त्यहाँ रहेका नेपालीको संगठन एनआरएन र अन्य नेपालीहरुको सहयोगमा ५५० अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन लागेको बताउनुभयो । उक्त सामग्री दिन नेपाल एयरलायन्सको विमान त्यसतर्फ गइसकेको छ ।

मन्त्रालयकै निर्देशनपछि गत साता चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पनि चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ भ्याक्सिन तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनी सिनो फार्मका पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो । उहाँले सिनो फार्मका पदाधिकारीहरुमार्फत नेपालको लागि चीनले २० लाखसम्म भेरो सेल खोप पलब्ध गराउने प्रतिबद्धता लिएर आउनुभएको थियो ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपालले अमेरिकाबाट पनि सहयोगको लागि प्रयास गरिरहेको छ । अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले छलफललाई अगाडि बढाउनुभएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता अमेरिकी टेलिभिजन र बेलायतको पत्रिका गार्जियन पत्रिकामा पत्रकाशित लेखमा पनि अन्तर्राष्ट्रिय समुदायलाई नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्नो राजदूतावासहरुमा पठाएको पत्रमा अहिले नेपालमा आवश्यक स्वास्थ्य सामग्रीलाई केन्द्रमा राखेर सहयोग जुटाउनको लागि पहल गर्ने भनिएको छ । नेपालका सम्पूर्ण मिसनहरुले उक्त पत्र प्राप्त गरिरहेका छन् । यस्तै, नेपालका विकास साझेदारहरुलाई पनि सहयोगको लागि अपिल गर्नको लागि राजदूतावासहरुलाई भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू