अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको संख्या ४ लाख ७३ हजार पुग्यो

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:२७ मा प्रकाशित

संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले जनाएको छ । पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ ।

श्रम तथ्याँक ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेहरुको संख्यामा ३४ हजारले कमी आएको उल्लेख छ । अघिल्लो साता करिब पाँच लाख ७ हजार व्यक्तिले बेरोजगारी भत्ताका लागि आवेदन गरेकामा पछिल्लो साता चार लाख ७३ हजारले मात्र आवेदन दिएका छन् ।

यो गत वर्ष सन् २०२० को मार्च १४ मा बेरोजगारी दाबी गरेयता सबैभन्दा कम हो । त्यसबखत कूल दुई लाख ५६ हजारले बेरोजगारी भत्ताका लागि दाबी गरेका थिए । यसैबीच, राज्य र संघीय दुबैतर्फका कार्यक्रमबाट सुविधा दाबी गर्ने व्यक्तिको कूल संख्या छ लाख ९६ हजारले कमी आएर एक करोड ६८ लाख ५५ हजार रहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू