अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

अष्ट्रेलियाको पिआर सुविधामा कटौती, विद्यार्थीलाई असीमित कामको अवसर

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:२५ मा प्रकाशित

अष्ट्रेलिया सरकारले आप्रवासीलाई दिदै आएको पिआर सुविधामा कडाइ गरेको छ । यहाँको सरकारले पिआर सुविधामा कटौती गर्ने निर्णय गरेको हो ।अर्थमन्त्री जोस फ्राइडेनबर्गद्वारा मंगलबार सार्वजनिक गरिएको सरकारको पछिल्लो बजेट नीति अन्तर्गत नयाँ आप्रवासीले प्रायः सरकारी कल्याणकारी सहयोग पाउन अब चार वर्ष पर्खनुपर्ने भएको छ।

यसअघि यस्ता सहयोग र भुक्तानी पीआर प्राप्त गरेको मितिदेखिनै प्राप्त हुन्थ्यो। यो नीति सन् २०२२ को जनवरी १ देखि पीआर प्राप्त गर्ने मानिसहरूमा लागू हुनेछ।आर्थिक वर्ष २०२१–२०२२ को सरकारी नीति तथा कार्यक्रममा मानिसको आय अनुसार बालबच्चा हुर्काउन प्रदान गरिने आर्थिक भुक्तानीदेखि अभिभावक बिदालगायतका भत्ताका लागि पनि नयाँ आप्रवासीहरूले अब थप समय पर्खनुपर्ने भएको हो।

यो सँगै आपतकालिन सहयोगका रूपमा रहेको जब सिकर, शैक्षिक भत्ता र युवा भत्ता पाउन पनि चार वर्ष पर्खनुपर्ने भएको छ ।यसैबीच अष्ट्रेलियाको सरकारले विद्यार्थीको काम गर्ने समय सीमा हटाउने भएको छ।कोरोना कहरलाई मध्यनजर गरी अष्ट्रेलियन सरकारले यहाँका स्वास्थ्य र पर्यटन तथा अतिथि सत्कारको क्षेत्रमा काम गर्ने सबैखाले अन्तराष्ट्रिय विद्यार्थीको काम गर्न पाउने समयको हदबन्दी हटाउने निर्णय गरेको हो ।

यसअघि अष्ट्रेलियामा पढ्न आएका विद्यार्थीले करको दायरा भित्र रहेर सातामा २० घण्टा काम गर्ने सीमा तोकिएको थियो। अबका दिनमा अर्को निर्णय नआएसम्म विद्यार्थीले यी क्षेत्रमा जति घण्टा काम गरे पनि हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू