अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

“कोरोना महामारी रोकथाममा एक भएर लागौँ” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:१२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरूपमा परिचालित हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीका लागि तेस्रो कार्यकालका लागि शपथ ग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उहाँले मानवीय सेवाको उदात्त भावना अघिपछि भन्दा बढी प्रकट गर्न आग्रह गर्नुभयो ।

महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उहाँले सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानुनको पालना गर्न आग्रह गर्नुभयो । उहाँले छिमेकी र मित्र देशलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरूपमा प्रयोग भइ नागरिकका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवनियुक्त मन्त्रिहरू र सरकारका उच्च कर्मचारीको सहभागिता थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधि सभामा ठूलो दलका नेताका हैसियतमा उहाँ प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू