अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

आमा

उर्मिला निर्दोषी २०७८ वैशाख २७ गते १६:११ मा प्रकाशित

आमा ! त्यो उज्यालो जुन हुन्
जसले, घरको औशी, सर्लक्क निलिदिन्छिन्।
अनि गृहस्थीको पूर्णिमामा आफूलाई सधैँ निरन्तरता दिन्छिन् आमा !
ममताको बाक्लो त्यो खास्टो हुन्,
जसका, स्नेहका तापहरूले, पौषको ठान्दा नै बिर्साइदिन्छ
र माघ महिनाको तुषारोनै विलाईदिन्छिन् ।

आमा ! सहनशीलता का फराकिला आकाशहरू हुन्
जसले गर्भदेखि चित्तासम्मका,
करोडौँ पीडाहरूका वोजन आफूभित्रै व्यवस्थापन गरेर,
आफ्ना नयनहरूमा शालीनताका
श्रावण -भाद्र बोकेर पनि,
सन्तानका भविष्यहरूका फाँट, सुन्दर र सुरक्षित बनाउन, आफूलाई सधैँ
ती रङ्गिन ईन्देणीहरुमा रूपान्तरित गर्छिन् ।

आमा ! जननी हुन्, आमा ! धर्ती हुन !
आमा आशा हुन्, आमा भरोसा हुन् ।
आमा मेरो जीवनको पहिलो र अन्तिम दुवै कुशल शिक्षिका हुन् आमा !
मेरो जीत हुन् आमा मेरो प्रेरणा हुन् ।
आमा ! मेरो कामना हुन्
जसले, कहिल्यै कसैसँग हार हुन सिकाइन्
आमा ! मेरो पूर्ण विश्वास हुन्, आमा मेरो दृढ सङ्कल्प हुन् ।
जसले, कहिल्यै कसैसँग शिर निहुर्र्याउन सिकाइन्।
आमा सत्यको प्रतीक हुन्,
जसले सधैँ नडगमगाई, मात्र सत्य बोल्न सिकाइन् ।

आमा ! मेरो आजको आत्मबल हुन्।
आमा ! मेरो ओठको मुस्कानहरू हुन् ।
आमा ! आशीर्वाद हुन्,आमा मेरो आदर्श हुन्।
आमा ! कर्म हुन्, आमा ! मेरो भाग्य हुन् ।
आमा ! मैले देख्ने दृश्यका ती सारा आकाश हरू हुन् ।
आमा ! मैले फेर्ने स्वासका हरेक धड्कनहरू हुन् ।
आमा ! मेरो मन मन्दिरको देवता हुन् ।
आमा मेरो मन बचन र कर्मका सारथिहरू हुन्
आमा ! मेरो जीवनको सब थोक हुन् ।
आमा! थिइन र त आज म छु ।
त्यसैले म भन्छु आमा मेरो जीवनको सब थोक हुन्!
आमा ! मेरो जीवनको सब थोक हुन्!
“आमा दिवसको हार्दिक शुभकामना !”

सेन्ट लुइस, अमेरिका