अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपनः नेता नेपाल

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:३४ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महामारी नियन्त्रण गर्नतर्फ ध्यान नदिएर अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी समेत गर्नुभयो । नेता नेपालले आज सामाजिक सञ्जालमा लेख्दै मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने बताउनुभएको छ । नेता नेपालले गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गर्नुभएको थियो । ’कोरोना (कोभिड १९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ नेता नेपालले भन्नुभएको छ , ’मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन। अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू