अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:२९ मा प्रकाशित

इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । योसहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् ।अधिकारीहरुका अनुसार फ्रान्सेली वायुसेना पछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ । दुबै मुलुकले राफेल बिमान खरिद सम्झौता भएको घोषणा गरेका छन् । इजिप्टको सेनाले राफेल बिमान खरिदका लागि फ्रान्ससँग १० वर्षे ऋण लिइएको जनाएको छ ।

तर सम्झौता के कति रकममा गरिएको हो भन्ने इजिप्टको सेनाले केही खुलाएको छैन । इजिप्टले सन् २०१५ मा २४ थान राफेल लडाकू बिमान ५ अर्ब ९३ करोड डलरमा खरिद गरेको थियो । फ्रान्समा उत्पादित अत्याधुनिक यस राफेल बिमान खरिद गर्ने पहिलो राष्ट्र पनि इजिप्ट नै हो ।निकै अत्याधुनिक भए पनि यसको विदेशमा बिक्री त्यति बढी हुन सकेको छैन । इजिप्टले राफेल बिमान खरिद गर्नुअघि बजारको खोजीमा रहेको फ्रान्सेली उत्पादक कम्पनी डासल्ट एभिएसनका यी बिमान फ्रान्सेली वायुसेनाले सन् २००६ देखि प्रयोगमा ल्याइरहेको थियो ।

हाल यी बिमान भारत र ग्रिस समेतका केही मुलुकमा बिक्री हुन थालेका छन् । फ्रान्सेली रक्षा मन्त्रालयले राफेल सम्झौताबाट फ्रान्समा तीन वर्षसम्म सात हजारले नयाँ रोजगारी प्राप्त गर्ने जनाएको छ । साथै, यसबाट फ्रान्स र इजिप्टबीच रणनीतिक तथा सैनिक साझेदारीलाई थप सुदृढ गर्ने मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू