अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

कोरोना संक्रमणका कारण घरमा नै आराम गरिरहेका सङ्क्रमितले के, के कुरामा ध्यान दिने ?

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:२६ मा प्रकाशित

नेपालमा आजकल दैनिक सरदर ७ हजारको आसपासमा सङ्क्रमित थपिएका छन् । सङ्क्रमित थपिदै जाँदा अस्पतालमा बेड अभाब देखिएको छ । जसका कारण सङ्क्रमितहरु घरमा नै बसिररहेका छन् । स्वास्थ्य मन्त्रालयले कोभिड –१९ सम्बन्धी बनाएको आइसोलेशन व्यवस्थापन निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण भएका सङ्क्रमितलाई होम आइसोलेशनमा राख्न सकिने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल ६६ हजार ३५२ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये अधिकांश घरमा नै आराम गरिरहेका छन् ।

कोरोना भएका तर घरमा नै आराम गरिरहेका व्यक्तिहरुले आफूलाई सङ्क्रमणको लक्षण बढ्दै गएको छ कि छैन थाहा पाउने, नियमित ज्वरो नाप्ने, रगतमा अक्सिजनको मात्रा ठिक छ कि छैन परिक्षण गर्ने, झोलीलो, पोषिलो खानेकुरा खाने र आराम गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे वताउनुहुन्छ । घरमा नै ज्वरो नाप्ने थर्मोटिर, अक्सिजन नाप्ने अक्सीमिटर, आवश्यक औषधि किनेर राख्नुपर्छ । सकेसम्म डाक्टरको नियमित सम्पर्कमा बस्नुपर्छ, दिनको दुई–तीनचोटि अक्सिजन नाप्नुपर्ने डाक्टरहरुको सुझाब छ । रगतमा अक्सिजनको मात्रा ९४ वा त्योभन्दा माथि छ भने सामान्य अवस्था र ९३ वा त्यो भन्दा कम आए अक्सिजनको कमी भएको बुझ्नुपर्छ ।

यदि अक्सिजनको मात्रा ९० भन्दा कम भएको खण्डमा तुरुन्त अस्पताल जानुपर्ने डा. पाण्डेको सुझाब छ । सङ्क्रमितले उपचार अवधिभर बाहिर ननिस्किने, खानपानमा विशेष सावधानी अपनाउनुपर्ने, आफु बस्ने कोठा र शौचालयको सरसफाइ गर्ने, हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिले मास्क प्रयोग गर्ने गर्नुपर्छ । श्वासप्रश्वासमा कठिनाइ भए, छाती दुखे, अत्यधिक जरो आए, होस हराए वा अन्य कुनै पनि जटिल अवस्था देखिए तुरुन्तै अस्पताल गएर उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू