अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

प्रचण्ड–नेपाल र जसपा को उपेन्द्र–बाबुराम पक्षबीच छलफल, ओलीविरुद्ध मोर्चाबन्दी, नयाँ सरकारसम्मै सहकार्य गर्ने सहमति

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:०३ मा प्रकाशित

नेकपा नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी शुरू गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको निवास हात्तीवनमा बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नेपाल र यादवबीच संसद्मा ओलीलाई विश्वासको मत पुग्न नदिने सहमति भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैहुनुहुन्छ । बैठकमा नेता नेपालले ओलीलाई विश्वासको मत नदिने बताएको स्रोतले जनाएको छ । तीन नेताबीच ओलीलाई हटाएर नयाँ सरकार बनाउने सहमति भएको बताईएको छ । बैठकमा नयाँ सरकार बन्ने अवस्थामा माधव नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने विषयमा समेत छलफल भएको थियो ।

स्पष्टीकरण सोधिएकामध्ये एमालेका कम्तिमा २० सांसदले राजीनामा दिँदा संसद्मा नयाँ सरकार बनाउन १२६ सांसद भए पुग्ने सम्भावना रहन्छ । ओलीलाई आफुहरुले समर्थन गर्न नसक्ने भएकोले विकल्प खोजौं भनेर माधव नेपालले बैठकमा स्पष्ट कुरा राखेको बताईएको छ । आफ्नो निवासमा भएको भेटमा माधव नेपाल पक्षका सांसदले राजीनामा दिने कि नदिने भन्ने विषयमा छलफल भएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

केपी ओली प्रतिगमनकारी रहेको र उनी संघीयता, गणतन्त्र सबैको विरोधमा लागेकोले आफुहरु प्रतिगमनकारी सरकारको विकल्प खोज्न एकमत जसपा अध्यक्ष यादवले जानकारी दिनुभयो । जसपाभित्र बहुमतभन्दा पनि सर्वसम्मत तरिकाले नै उक्त निर्णय गराउने आफ्नो प्रयास रहेको यादवको भनाई छ ।

प्रतिनिधि सभामा कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । माधव नेपाल पक्षका कम्तिमा २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा गरेको अवस्थामा प्रतिनिधि सभामा बहुमत पुर्याउन जसपाका १६ सांसदको साथ भए पुग्ने विश्लेषण गरिएको छ । माधव नेपाल पक्षले सामूहिक राजीनामा दिएको खण्डमा जसपाको उपेन्द्र–बाबुराम पक्षको साथले सरकार बनाउन पर्याप्त हुने देखिन्छ ।

उक्त पक्षका १८ जना सांसदले ओलीविरुद्ध हस्ताक्षर गरेको बाहिर आएको थियो । वैकल्पिक सरकार गठनको गृहकार्य गरेका कांग्रेस, माओवादी र जसपाले आवश्यक बहुमत पुर्याउन सकेका छैनन् । बैठकमा उपेन्द्र यादवले नयाँ सरकार बन्ने अवस्थामा २२ भन्दा बढी सांसदको समर्थन रहने बताउनुभएको थियो । तीन नेताहरूबीच पछिल्ला दिनमा लगातार जस्तो कुराकानी भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू