अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

भारतबाट दैनिक ४५ सय नेपाली स्वदेश फर्कदै

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ८:०७ मा प्रकाशित

दोस्रो लहरको कोरोना भाइरस महामारीको हब बनिरहेको भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् ।भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै राजदूत आचार्यले यसबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेका छन् ।

आफूले नेपालीहरुलाई सकभर घर नजान आग्रह गरेको बताउदै राजदूत आचार्यले जाँदै नजानुस् भन्न भने नसकिने प्रष्ट पार्नुभयो ।भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क दूतावासलाई प्राप्त भएको आचार्यले जानकारी दिनुभयो । तर उपलब्ध तथ्याङ्क अपुरो भएको उहाँले बताउनुभयो ।

भारतमा संक्रमित भएका नेपालीहरुलाई दूतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्ने काम भइरहेको पनि राजदूत आचार्यले बताउनुभयो ।बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुविधा नपाएको गुनासो आइरहेको बताउनुभयो । आधार कार्डको विकल्पबारे दूतावासले सोच्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू