अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

आईपीएल अनिश्चितकालका लागि स्थगित

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ८:०० मा प्रकाशित

भारतमा जारी आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।कोरोना भाइरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिएका छन् । उनले तत्काल प्रतियोगिता स्थगित गएिको र अगाडि कसरी बढ्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने बताएका छन् ।

आईपीएलका अध्यक्ष ब्रिजेश पटेलले विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिए ।आईपीएलको जारी १४ औं संस्करणमा २९ खेल खेलिसकिएको थियो भने ३१ खेल खेल्न बाँकी रहेको छ । पछिल्लो दुई दिनमा तीन टिमका चार खेलाडी, एक प्रशिक्षक र दुई स्टाफमा कोरोना देखिएपछि बीसीसीआईले यो निर्णय लिएको हो ।

सोमबार कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती र सन्दीप वारियर, चेन्नई सुपर किङ्सका बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजी र दुई स्टाफ तथा मंगलबार सनराइजर्स हैदराबादका रिद्धिमान साहा र दिल्ली क्यापिटल्सका अमित मिश्रा संक्रमित भएका थिए । आईपीएलमा ८ खेलबाट १२ अंकसहित साविक उपविजेता दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । १० अंकबाट चेन्नई दोस्रो तथा रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा रहेको छ । भारतमा दैनिक साढे तीन लाखभन्दा बढी कोरोनाका संक्रमित थपिँदा पनि आईपीएल रोकिएको थिएन । गत वर्षको आईपीएल भने युएईमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू