अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

नेपाललाई ट्रान्जिट बनाउने गरी आएका विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई निर्देशन

बिआरटीनेपाल २०७८ वैशाख १६ गते ७:५९ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले विदेशी नागरिकको कोरोना परीक्षणमा बन्देज गर्न नसक्दा सङ्क्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको समेत जनाएको छ ।

मन्त्रालयले सबै प्रयोगशालाहरुलाई कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परीक्षणका व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशक विपरित कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुको परीक्षण गर्ने गराउने गरेको पाइएमा कारवाहि गरिने समेत जनाएको छ ।

उहाँले अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने पनि बताउनुभएको छ । कोरोना सङ्क्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको भन्दै उहाँले यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म नहुने बताउनुभएको छ ।

यसैबीच, मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै सञ्चारकर्मीहरुलाई कोरोना भाइरस विरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने जो कोहीको समाचारलाई निरुत्साहित गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा प्रकाशित सूचनामा कोभिड १९ को महामारीसँग जुध्नको लागि सबै सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाएको सक्रियता प्रति धन्यवाद पनि दिइएको छ । अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनुभएको छ ।

आमसञ्चारमा समाचार पढ्दा अन्तर्वात लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गर्न तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिन उहाँले आग्रह गर्नुभयो । सङ्क्रमण रोकथामको लागि नेपाल सरकारले तोकेको मापदण्डहरु निर्विकल्प उपाय भएको पनि उहाँले बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू