अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

कोदोको रक्सीलाई ’ब्राण्ड’ बनाउन कार्यदल गठन

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:३८ मा प्रकाशित

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ । घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको हो ।

नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चा पदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी श्रृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न सकिने तथा अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पार्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कार्यदललाई सामाजिक विकास मन्त्री राईको अवधारणा कार्यान्वयन सम्भाव्यताका लागि आर्थिक, सामाजिक–सांस्कृतिक, वातावरणीय तथा कानूनी पक्षहरुको अध्ययन गरी कार्यान्वयनको प्रारम्भिक ढाँचा तयार पार्ने जिम्मेवारी दिइएको छ । कोदोको रक्सीको वैधानिक तथा व्यावसायिक उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ, बजारीकरण र प्रवद्र्धन गर्दै आन्तरिक खपतमा व्यापकता प्रदान गर्न सके आयात प्रतिस्थापनका साथै विदेशमा समेत निकासी गर्ने सम्भावना रहेकाले घरेलु मदिरालाई ‘व्याण्ड (प्रतिबन्ध) होईन ब्राण्ड’ बनाइनुपर्ने पक्षमा मन्त्री राईले वकालत गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू