अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

स्पष्ट बहुमत नुपुगेसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेसले हतार नगर्ने

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ८:२१ मा प्रकाशित

नेपाली कांग्रेसले स्पष्ट बहुमत नपुग्दासम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हतार नगर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतवार बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा स्पष्ट बहुमत नपुग्दासम्म अविश्वासको प्रस्ताव ल्याउन नहुने निश्कर्ष निकालेको हो ।

गत चैत्र २० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले ओलीविरुद्ध अविश्वासको प्रस्तावका लागि कांग्रेससँग आग्रह गरिरहेको छ । एक पदाधिकारीका अनुसार बैठकमा सभापति देउवाले अविश्वासको प्रस्ताव राख्नको लागि स्थिती परिपक्व नभएको बताउनुभएको थियो । जसपाको बहुमत पक्ष प्रधानमन्त्री ओलीसँगै रहेकोले आफूहरूको पक्षमा बहुमत पुग्न नसक्ने कांग्रेसको विश्लेषण छ ।

मंगलवार बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बसेको पदाधिकारी बैठकमा पार्टी महाधिवेशनको विषयमा समेत छलफल भएको छ । सोमवारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक सदस्यहरूको कोरोना टेष्ट गरेर मंगलवार बस्ने तय भएको एक नेताले बताएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू