अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

कोरोना सङ्क्रमितले देशभरका अस्पतालका शैया भरिन थाले

बिआरटीनेपाल २०७८ वैशाख ११ गते ८:०८ मा प्रकाशित

कोभिड–१९ को सङ्क्रमणले गर्दा देशभरमा अस्पतालका रहेका शैया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बिरामीहरुको अस्पतालमा चाप बढेको छ भने प्रमुख शहरहरुमा शैया अभाव हुन थालेको छ । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । आज थप २६ सय जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना सङ्क्रमितले शैया भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर सङ्क्रमितले भरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनुभयो ।

अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले सङ्क्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ । अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा सङ्क्रमण सार्न सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा सङ्क्रमितको उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार कोभिड–१९ को अहिलेको लहरमा सङ्क्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ । नेपालमा अहिले दुई लाख ९४ हजार ६०१ जना सङ्क्रमित, दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किएका र तीन हजार १२३ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ । यस्तै मुलुकभरि १३ हजार ५७८ होम आइसोलेशन र एक हजार १४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७. ८ जना मृत्यु हुने गरेको पाइएको छ । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू