अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

लोकतन्त्र नागरिक तहसम्म किन पुग्दैन ?

गोपी मैनाली २०७८ वैशाख १० गते ८:२९ मा प्रकाशित

(लोकतन्त्र दिवस वैशाख ११ का सन्दर्भमा)

नागरिकका लागि प्रत्येक दिन लोकतन्त्र दिवस हो । व्यवस्थित समाजमा लोकतन्त्र व्यवस्था मात्र होइन, जीवनशैली हो । सबै दिन उसले अभ्यास गर्ने विषय भनेको लोकतन्त्र नै हो । नागरिक वैयक्तिक स्वतन्त्रताको पारखी हुन्छ, निजत्वमा रमाउँछ र अवसरको अपेक्षा गर्दछ । लोकतन्त्रको अभ्यासबाट खुसीमा रमाउने नागरिक चाहना पूरा गर्न राज्य नामको नागरिक संस्था ऊ आफैले सिर्जना गरेको हो र लोकतन्त्रको आविष्कार गरेको हो । लोकतन्त्र खुसी प्राप्तिको माध्यम हो, राज्य त्यसको संरक्षक । त्यसैले नागरिकका लागि प्रत्येक दिन लोकतन्त्र दिवस हो, राज्यका लागि भने आफ्नो वैधता जाँच्ने विशेष दिन ।

तर लोकतन्त्र कार्यमूलक भएन । लगातारको प्रयासपछि पनि लोकतन्त्र जनजीवनमा पुगेको छैन । पाँचौँ शताब्दीदेखि एथेन्स, रोम, भेनिस लगायतका नगर (राज्य) बाट लोकतन्त्रलाई आदर्श र वास्तविक बनाउने अभियान थलियो, अठारौँ शताब्दीबाट आधुनिक लोकतन्त्रको अभ्यास हुन थाल्यो, तैपनि लोकतन्त्र ‘लोक’ को ‘तन्त्र’बनिसकेको छैन । लोकतन्त्रलाई कसरी कार्यमूलक बनाउने भन्ने चिन्तामा मुलुकहरू छन्, तैपनि मुलुकहरू भनिएजस्तो लोकतान्त्रिक बनिसकेका छ्रैनन् ।

लोकतन्त्रलाई प्राविधिक रूपबाट अर्थ्याउने गरिन्छ, दार्शनिक रूपमा व्याख्या गरिन्छ । जोन ज्याकुस रुसो, अब्राह्म लिङ्कन, थोमस जेफर्सनका परिभाषाहरू लोकतन्त्रलाई अर्थ्याउन दार्शनिक आधार दिन्छन् । दर्शनले कार्यान्वयनका आशय मात्र दिन्छन्, दर्शन त्यत्तिकै क्रियाशील हुँदैनन् । रवर्ट डाहलले त लोकतन्त्रलाई वास्तविक बनाउन नागरिकहरूको सहभागिता, मत/अभिमतमा समानता, सुशिक्षित समझदारी, कार्यसूची उपर नागरिक नियन्त्रण, सम्पूर्ण वयस्कहरूको संलग्नता र समावेशितालाई आधार मूल्यको रूपमा अभ्यास गर्न सुझाएका थिए ।

तर दर्शन र सिद्धान्तप्रति यसका व्याख्याताहरू कहिल्यै उदार देखिएनन् । भनिरहनु परोइन, लोकतान्त्रिक हुनु भनेको उदारवादी हुनु हो, चेतनाले मानिस उदार वा लोकतान्त्रिक बन्दछ । तर यसका व्याख्याताहरू नै अनुदार देखिएपछि लोकतन्त्र आदर्शको विषय मात्र बन्दछ, व्यवहारमा पाइँदैन । राज्यका तर्फबाट गरिएका सबै प्रयास लोकतन्त्र संस्थागत गराउनका लागि हुन्, सिर्जित संस्था र संरचनाहरू लोकतन्त्रलाई नागरिकसम्म पु¥याउनका लागि हुन् । तर अनुभूत तहमा लोकतन्त्रको अभ्यास नै हुन पाएको छैन । आवधिक निर्वाचनको एक दिन लोकतन्त्रलाई जीवन्त बनाउन पर्याप्त होइन ।

आधुनिक समाजमा लोकतन्त्रका केही सवालहरू छन् । जसले ‘लोक’ र ‘तन्त्र’ बिच फासला खडा गरेको छ । न्याय र समानता लोकतन्त्रको साध्य हो । तर असमानता दिनदिनै बढ्दै छ । असमानताको व्यावहारिक अभ्यास परिवारबाट सुरु भएर समाज, सामुदायिक स्थल, सङ्गठन, राज्य र विश्व तहमा जताततै छ । स्रोत विनियोजन, अवसर वितरण, प्रक्रिया र सहभागिताका सबै आयाममा छ । असमानताका रूपहरू पनि फेरिँदै र फराकिँदै छन् । धन, ज्ञान, प्रविधि, शासन, प्रशासन, शिक्षा, उपभोग, स्वामित्व, पहिचान, अवसर र अरू धेरैमा असमानता छ । क्षमता वा ज्ञान बाहेक अरूमा असमानता देखिनु हुन्न, कोही अर्कोबाट असमान छ भने त्यो केवल क्षमताका कारणले मात्र हो । असमानताका अरू कारकहरु लोकतन्त्रले मेट्नु पर्छ । तर लोकतन्त्रका संस्थाहरू त्यसो गर्न सक्षम भएनन् । प्रयास होला तर परिणाममा देखिएन ।

राज्यलाई नागरिक समक्ष पुर्याउनु लोकतन्त्रको काम हो । विकेन्द्रीकरण, संघीयकरण, एजेन्सी करण, प्रत्यायोजन, साझेदारी जे भनौँ सबै राज्यलाई नागरिकसम्म पुर्याउने माध्यम हुन् । लोकतन्त्रको लाभांश नागरिकसम्म पुर्याउनु पर्दछ । यसलाई लोकतन्त्रको डेलिभरी पनि भनिएला । सेवा, वस्तु, उपचार, भावना र अरू धेरै नागरिक अपेक्षामा राज्य नागरिकसँग हुनुपर्छ, त्यति मात्र होइन, नागरिकसँगै हुनुपर्दछ । तर राज्य नागरिक नजिक पुगेन । राज्यलाई नागरिकले आफ्ना भन्न पाएनन् । लोकतन्त्रको वितरणमार्फत नागरिकसँग सुख दुखमा साथ दिने नागरिक निकाय संस्था बनेन, लेथर्जिक, औपचारिक र उदासीन बने । राज्यका तर्फबाट नागरिक समक्ष पुग्ने राज्य संरचना बाहिरका पात्रहरू अनुशासनमा देखिएनन्, राज्यको नियमन सक्रियता पनि देखिएन ।

लोकतन्त्रलाई गतिशील बनाउने, परिष्कृत र सुसंस्कृत पार्ने काम राजनीतिको हो । राजनीति व्यवस्थित समाजको माउ नीति हो । राजनीतिक स्रोत परिचालन मार्फत लोकतन्त्रलाई व्यावहारिक बनाउने आशय राखिन्छ । बहुधा राजनीतिक पात्र राजकाजमा होइन, स्वार्थ राजनीतिमा रमाए, जनताको विश्वासमा रमाएनन् । उदार र संयमित बन्नुपर्नेमा कठोर र अधीर देखिए । शक्ति राजनीति शक्ति अन्धतामा देखियो । असल राजनैतिक संस्कृति बसाउन सकिएको छैन ।

परिष्कृत लोकतन्त्रका धरोहर मानिएका मुलुकहरूमा पनि राजनेताको अभावमा राज्य कौशलता देखिएको छैन । समाज बदल्न असल व्यवहार र उदाहरणीयता देखाउने भूमिकाका राजनेताहरूको खडेरी छ । परिणामतः राजनीति नै मर्यादाको विषय भएन । युवापुस्ता, विशेषतः मिलेनिएल्स राजनीतिबाट विरक्त छन् । भोलि जिलेनिएल्सहरुले के सम्झलान ? त्यसपछि लोकतन्त्र कसरी अभ्यासमा रहला ? गम्भीर चुनौती ठडिएको छ ।

नागरिक इच्छा–अपेक्षा पूरा गर्न नागरिक भावनाभन्दा एक कदम अगि हुनुपर्ने नागरिक प्रतिनिधिहरू नागरिकबाट पोषित मात्र भए, प्रवत्र्तनकारी र अग्रसर देखिएनन् । परिणामतः कतै कुण्ठा त कतै आक्रोश देखिँदै छ ।

लोकतन्त्र राज्यव्यवस्थामा सामाजिक बिम्बको आग्रह राख्दछ । विसौ शताब्दीको उत्तरार्द्धबाट सामाजिक लोकतन्त्रको माग बढ्दै छ । लोकतन्त्रलाई राजनैतिक अभ्यासबाट मात्र पूरा गर्न सकिँदैन । राज्य प्रक्रियामा सामाजिक बिम्ब देखिन राजनीति विचार, वर्ग, सम्प्रदाय, जाति र अरू धेरै आग्रहभन्दा माथि हुनुपर्दछ । तर राजनीति यी सबै कुरामा आग्रही बन्दैछ । समग्रतालाई समेट्नु समावेशिता हो तर ‘पार्ट’ को प्रतिनिधित्व गरेर ‘होल’ लाई समेट्न नसक्ने राजनीति ‘पार्टी’ बन्यो, समावेशी बन्न सकेन ।

विज्ञान र प्रविधिले संसारलाई अभूतपूर्व परिणतिमा लगेको छ । यो परिणातिसंग राजनीतिक प्रणाली अभ्यस्त हुन सकेन भने, गतावधिक हुँदै गयो भने परिवर्तनको भेलले लोकतन्त्रलाई उछिन्ने छ र नागरिकहरू लाभलिनबाट किनारा पर्नेछन् । लगातार परिवर्तनको भेल वा अवसरबाट किनारा लाग्दा लोकतन्त्र झनै अवास्तविक बन्नेछ र पुस्ताका लागि अवसरहरू गुम्दै जाने छन् । ‘डेमोक्रेसी’‘डिमार्की’ बन्नेछ ।

कलिला लोकतन्त्रहरू नरम राज्य प्रणालीका कारण पद्धति बसाउन सकिरहेका छैनन् । धेरै चाख समूह र स्वार्थबाट राज्य प्रणाली रल्मलिन्छ । शासनमा कोठरी, अर्थतन्त्रमा क्रोनी र प्रशासनमा शाला मोडेलले प्रणाली कब्जामा पुग्न वेर लगाउँदैन । अनि राज्य र नागरिक बिचको सबन्ध विच्छेदको बाटो समाउँछ ।

आधुनिक लोकतन्त्रमा नागरिक केन्द्र विन्दुमा रहन्छ । नागरिक चेतना, कर्तव्य र जागरूकताबाट लोकतन्त्र मर्यादित बनाउने, लोकतन्त्रका पात्र र प्रक्रियालाई नैतिक रूपमा क्रियाशील बनाउने काम हुनुपर्दछ । तर नागरिकहरू पनि अधिकारमा रमाउने र कर्तब्यमा लजाउने, स्वार्थमा रत्तिने र समर्पणबाट आत्तिने प्रवृत्तिमा छन् । त्यसैले पनि लोकतन्त्रलाई लिकमा ल्याउन यसका पात्रहरूलाई जबाफदेही बनाउन सकिएको छैन ।

समृद्धिले कवच दिएन भने लोकतन्त्र फोस्रो बन्नेछ । लगानी, उत्पादन, रोजगारी र व्यवसायलाई गतिशील बनाइ अर्थतन्त्रलाई चलायमान बनाउन नसके लोकतन्त्र औसतहरूको हुनेछैन, सीमितहरूको मात्र हुनेछ । समृद्धि निर्माण र समृद्धिको समन्यायिक वितरण नहुँदा लोकतन्त्रले समष्टि अर्थवत्ता नै पाएको छैन । कम्प्रिहेन्सििभ डेमोक्रेसी यस शताब्दीको माग हो ।

तैपनि नागरिकहरू आफ्नो नबनेका आफ्नो संस्थाबाट प्रभावित छन्, र आशा गरिरहेका छन् लोकतन्त्रको रक्षा र अनि वितरणमा आफ्ना संस्थाहरू छिटै बेस्सरी जागरूक हुनेछन् र आशा र उमङ्गको स्थिति आउने छ । पात्रहरूमा इमान, क्षमता र विधि निष्ठा सबैतिरको माग हो ।