अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

युके भेरियन्टको एक कोरोना संक्रमितले ७० जनासम्मलाई संक्रमण सार्न सक्ने खतरा

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:३२ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोरोना (कोभिड–१९) संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको भन्दै मन्त्रालयले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।उहाँका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष आवश्यक पर्ने बताउनुभयो । सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

केही दिनयता काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित विरामीको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको उहाँको भनाई छ ।गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएको उहाँले बताउनुभयो ।

जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताउनुभयो ।मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ । आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू