अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 13:55

एमाले नेता नेपाल पक्षको रिट सर्वोच्चमा दर्ता, आइतवारका लागि पेसी तोकियो

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:२८ मा प्रकाशित

नेकपा एमालेका नेता माधवकुमार नेपालसहित चार सांसदले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला दल त्यागको कारबाही गर्न सक्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।आज दर्ता भएको रिटमा अध्यक्ष ओलीले आफूहरुलाई जुनसुकै बेला दल त्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न माग गरिएको छ । रिटको पेसी आइतवारका लागि तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

विधान विपरीत महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई खारेज गरेर महाधिवेशन आयोजक कमिटी बनाएको, आफू पक्षीय १४ जना पदाधिकारी खारेज गरेको, पार्टी सदस्यता नलिएकालाई अचानक केन्द्रीय कमिटी सदस्य बनाएको, विधान अधिवेशन नगरि विधान संशोधन गरेकाले त्यसलाई बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

ओलीले वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपालसहित २७ सांसद र प्रदेशसभाका पाँचजनालाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोध्नुभएको थियो । स्पष्टीकरण सोध्ने निर्णयमाथि रिटमा प्रश्न उठाइएको छ । माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल निवेदक रहेको रिटमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू