अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

ज्ञान, बुद्धि विवेक र सङ्घर्षका सागर बुद्धिसागर

विष्णुप्रसाद पौडेल २०७८ वैशाख ९ गते ८:०३ मा प्रकाशित

जति बेला नेपालमा मोटर बाटो कमै थिए । २०२२ सालमै स्याङ्जामा मोटर बाटो बनेको थियो । भारतीय सिमानाका सुनौलीलाई पोखरासम्म जोड्ने सिद्धार्थ हाइवेले स्याङ्जालाई माझबाट २ चिरा बनायो । त्यो बाटो भएर धेरै जना ओहोरदोहोर गरे । धेरै थोक ओहोरदोहोर भए । तर, स्याङ्जालीहरूको दुख जहाँको तहीं नै थियो । स्याङ्जा टक्सारको सुवेदी परिवारले तिनै दुखहरूबाट पार पाउन चितवनमा बसाइ सर्‍यो ।

बालक बुद्धिसागरले गाउँकै रमाइलो डाँडा प्राविमा सावाँ अक्षर छिचोलेका थिए । आमाबाबुले पहाडका गरागुरी खोस्रेर मात्रै भएन भनेपछि सपनाको भारी बोकेर चितवनको माडीमा बसाइ सारेका थिए । बुद्धिसागरले पनि उतै पढ्न थाले । पारिवारिक सङ्घर्ष छँदै थियो, बुद्धिलाई भने पढाइको सङ्घर्ष । जसमा उनी पछि परेनन् । सधैँ फस्ट सेकेन्ड भइरहे । निमावि र मावि माडी मावि वसन्तपुरमा पढे । सधैँ फस्ट सेकेन्ड भइरहे । एसएलसी ४ जनाले फस्ट डिभिजनमा पास गर्दा २०४४ सालमा उनी पनि एक थिए ।

पढाइमा अब्बल छोरालाई बाबुले फरेस्ट्री पढाउन चाहे । बुद्धिसागरलाई भने रामपुर क्याम्पस चितवनमा कृषि पढ्ने इच्छा थियो । बुवाले फरेस्टी पढ्दिए हुन्थ्यो भन्नेपछि भएर पोखरा गएर पढे । तर, त्यसमा करियर बनाएनन् । वनको कुरा पढे पनि पछि बाटो मोडियो, स्कुलको शिक्षक भए । पछि क्याम्पसको प्राध्यापक भए । अहिले भने अमेरिकामा जमेका व्यवसायी भएका छन् । त्यसैले भनिएको होला, जिन्दगीको गोरेटा सिधा हुँदैन, बांगोटिंगो हुन्छ, उकालो र ओरालो हुन्छ । बुद्धिसागरका जीवनमा त्यस्तै भएको छ । ओरालो भने उनले हिँड्नु परेन भन्न सकिन्छ ।

अमेरिकामा जमेका व्यवसायी हुन् तर अहिले उनको अझै धेरै ठुलो परिचय एनआरएन अमेरिकासँग जोडिएको छ । जसको उनी उपाध्यक्ष छन् र अबको अध्यक्षको प्रतिस्पर्धामा खरो उत्रिइसके पनि । एकातिर व्यवसाय अनि अर्कोतिर समाजसेवा, बुद्धिसागरको जीवनका दुई पाटा हुन् ।

सामाजिक भावना बुद्धिसँग अमेरिका आएपछि मात्रै पलाएको होइन, राजनीतिक चेत छँदै थियो, र अनुभव पनि । आखिर राजनीतिको मूल उद्देश्य भनेको सेवा नै त हो । राजनीतिमा लागेर उनले चुनाव लडेको अनुभव लिए । आन्दोलनमा पनि होमिए र अनि केही दिन प्रहरीको थुनामा पनि ।

पोखरामा फरेस्ट्री पढ्दै गर्दा आन्दोलनको बेला थियो । होस्टेलमा हुँदा पक्राउ पनि परे । १/२ दिन थुनामा परे । कलेजले होस्टेलमा बस्न दिएन । २०४७ सालमा आइएससी पास गरे । धनगढीमा रेन्जर भएर काम गरे । ब्याचलर मास्टर्स भने बिबिएस र एमबिएस गरे । त्रिविबाट एमबिए । त्यसबिचमै वन एयर बि एड चितवनको सप्तगण्डकी कलेजबाट गरे । किसानी परिवार थियो । आफैँ कमाएर पढ्नुपर्ने बाध्यता थियो । ब्याचलर सकेपछि कालिकोट गएर प्रस्तावित माविमा प्रअ भएर काम गरे । ३ वर्ष त्यतै बिताए । अनि कीर्तिपुर गएर मास्टर पढ्न गए । वन एयर बि एड थिँदै थियो । अर्थशास्त्रमा एमएड पनि गरे । फस्ट डिभिजनमै पास गरे । शिक्षाशास्त्र सङ्कायमा नियुक्ति पनि पाए त्रिविमा । एमबिए पनि छँदै थियो, पब्लिक यूथ, मीन भवन क्याम्पसमा पनि पढाए । २०५४ बाट २०६१ सम्म पढाएर बिताए । नयाँ बानेश्वरमा इन्स्टिच्युट खोले । १७/१८ सय विद्यार्थी उनको कान्तिपुर इन्स्टिच्युटमा पढ्न आउँथे । फाइनान्स र एकाउन्ट उनीसँग पढ्न आउनेको धुइरो लाग्थ्यो ।

मीन भवन क्याम्पसमा मर्निङ सिफ्टमा बिबिएस सेकेन्ड एयरमा फाइनान्स पढाउँदा यति धेरै विद्यार्थी हुन्थे कि अर्को सेक्सनको पनि आएर अटाइनअटाइ भए । त्यति बेला कि सहायक क्याम्पस चिफ सरिता खड्काले आइडी चेक गरेर मात्रै आफ्नो सेक्सनका विद्यार्थी मात्रै कक्षामा राख्ने निधो गरिन् । तर विद्यार्थी यति धेरै धकेलाधकेल गरेर आए कि म्याडमको घडी नै भिडमा खस्यो र हरायो । विद्यार्थीसँग साथीजस्तै व्यवहार गर्ने र नजानेको कुरा सोध्नेलाई सजिलै उत्तर भन्दिने र बाटोमा हिँड्दा हिँड्दै कसैले सोधे पनि झर्को नमानी भन्दिने बुद्धिको बानी थियो । बिहान साढे ४ बजेदेखि बेलुवा १० बजेसम्म पढाउन बिजी भइरहन्थे । किताबका पेजै कण्ठ हुन थालेको थियो । कमाइको कुनै चिन्ता थिएन । साथीहरू भन्थे, अमेरिका यतै छ, नजानुस् । ढुङ्गा छोए पनि सुन भइरहेको छ । तर डिभी परेकैले २००३ मा अमेरिका आए । श्रीमती र बच्चा लिएर आए ।

८ कक्षा पढ्दा नै स्कुलमा जुनियर रेडक्रस सर्कलको अध्यक्ष थिए । भाषण फाट्टफुट्ट गरिहाल्थे । फस्ट ब्वाई भएकैले सरहरुले पनि नेतृत्वका लागि हौस्याउँथे । स्काउटमा पनि उनैलाई सरहरुले अघि सार्थे । गाउँले जनचेतना बाचनालय खोल्नुपर्छ भनेर उनी लागे । शीतल क्लब भन्नेको अध्यक्ष पनि उनै थिए । त्यो क्लबको नाम भने अहिले फेरिएको छ, काम भने गरिरहेकै छ ।
२०५४ सालको स्थानीय निर्वाचनमा पनि बुद्धिसागरले भाग लिएका थिए । तर विजयी भने हुन सकेनन् । केही गुमाएको अनुभूति भएन, बरु धेरै शिक्षा प्राप्त गरे । निर्वाचनलाई प्रजातान्त्रिक अभ्यासका रूपमा लिने संस्कार उनमा जो थियो ।

डिभी परेपछि सन् २००३ मा बुद्धिसागरले ७ सागर तरेर अमेरिका टेकेका हुन् । नेपालमा त्यति धेरै नाम र दाम कमाएका उनका साथीभाइ अमेरिकामा पनि बुद्धिले बुद्धि र बर्कत उस्तै लगाउने छन् र धेरै नाम र दाम कमाउने छन् । सुरुमै त भनेजस्तो कसरी हुन्थ्यो र ? नेपालमा जति पढेर आएको भए पनि अमेरिकामा फेरि सङ्घर्ष गर्नुको विकल्प हुँदैनथ्यो । ‘साथीहरूले धेरै पढ्नुहोला, पिएचडी गरेर नेपालै फर्कनुहोला भनेका थिए, त्यसैअनुसारै गर्नुपर्ला भन्ने थियो,’ उनी भन्छन्, ‘तर हाम्रो नेपालको थ्री एयर्स ब्याचलर र टु एयर्स मास्टर्सको यहाँ इकुभ्यालेन्ट कम भयो ।’

नेपालमा पिताजीको निधनको खबर आयो । बुवाको ठुलो सङ्घर्षबाटै आफू यहाँ आउन सकेको हेक्का राखिरहेका थिए । पढाइका लागि युनिभर्सिटी जाने भन्दा पनि उनले जिन्दगीको ठुलो युनिभर्सिटी आफ्ना पितालाई मानेका थिए । जसबाट उनले दुख के हो, सुख के हो, सङ्घर्ष के हो र जीवन के हो भन्ने ज्ञान पाएका थिए । किरियाकर्मको १३ दिने धर्म मात्रै उनले पूरा गरेनन् । पिताको सम्मान खातिर ४५ दिन दुख बारे । बाँचुन्जेल पनि पिताजीका लागि हर सुखका लागि कुनै कसर बाँकी राखेका होइनन् । परलोक गएपछि पनि सम्मान र श्रद्धा झन् उचो भयो ।

नेपालबाट फर्किएपछि पढाइ भन्ने त्यस्तै रहेछ भन्ने लाग्यो उनलाई । बरु व्यापारतिर लाग्ने सोचे । ‘अमेरिका आएपछि कि लर्निङ गर्नुपर्छ कि अर्निङ गर्नुपर्छ भन्ने मेरो अठोट थियो,’ उनी भन्छन्, ‘स्ट्रोङ्ली डिटरमाइन गरेँ कि अब अर्निङ गर्छु ।’ काठमाडौँमा किनेको घडेरी बेचेर आएको पैसा व्यापारमा लगाए । सुरुमा बिजनेस पनि कठिनै थियो । बाल्टिमोर आएपछि ग्यास स्टेसन र स्टोरमा काम गरेको अनुभव थियो । २००६ बाट बिजनेस सुरु गरे । जहाँ उनी थिए, त्यहाँ अरू नेपाली थिएनन् । एक्लै सङ्घर्ष गर्नुको विकल्प थिएन । अहिले २६५ जना नेपालीका विभिन्न व्यवसाय छन् । बुद्धिसागर आफैलेचाहिँ व्यापारमा विविधीकरण गरेका छन् । कन्भेनिएन्ट स्टोरमा मात्रै होइन, रियल स्टेटमा पनि लागेका छन् । सेभेन इलेभेन, पिज्जा लगायतका व्यवसाय छन् । होटेलमा लगानी गरेका छन् । हाउजिङ र अपार्टमेन्टतिर साझेदारीमा लागेका छन् । सबै गर्दा ३० वटा व्यवसायमा झन्डै १०० जना नेपालीलाई उनले रोजगारी दिएका छन् ।

अमेरिकाका नेपाली समुदायको दाँजोमा विस्कान्सनको कम्युनिटी निकै बलियो छ । सबै एकगठ छन् । बुद्धिसागरले नै अरूलाई विस्कान्सन बोलाएका हुन् । मर्दापर्दा साथसाथ हुने नेपाली संस्कृतिको मौलिक परम्परा यहाँ सजीव छ । बिहेको जन्ती र मर्दाको मलामी भन्ने नेपाली समाजको पहिचान यहाँ छ । सुवेदीकै अगुवाइमा नेप्लिज एप्पलटन यूथ एसोसिएसन , एप्पलटन विस्कान्सन भन्ने संस्था पनि छ नेपालीको । अहिलेसम्म पनि उनी यसको संरक्षक छन् ।

एप्पलटन विस्कान्सन ठाउँमा बुद्धिसागरले रैथाने गोराहरूको संस्थासँग मिलेर पनि काम गरिरहेका छन् । लायन्स क्लबसँग पनि आबद्ध भएका छन् । अफ्रिकाको भोकमरी भएका ठाउँमा लैजाने गरी बुद्धिको स्टोरबाट महिनाको २ सय डलर गइरहन्छ, स्थानीय गोराहरूमार्फत । नेपालका गाउँ ठाउँका स्कुलमा कम्प्युटर र शैक्षिक सामग्री पठाइरहेकै हुन्छन् । पिता हुमनाथ सुबेदीको भनाइ सधैँ सम्झिरहन्छन् । पिता भन्थे, ‘रित्तै आएका हौँ, रित्तै जाने, सकेको पुण्य गर्नुपर्छ । मरेपछि पनि अरूले सम्झने काम गर्नुपर्छ ।’ हात खुला ग¥यो भने अरूलाई दिन पाइन्छ, र आफूलाई पनि भलो हुन्छ, मुठी पा¥यो भने केही पाइँदैन भन्थे । बुद्धिसागरका पिताहुमनाथ सुबेदी बिपी कोइरालाका अनुयायी हुन् । राजनीतिमा धेरै अगाडि बढेनन्, तर क्षेत्रीय तहसम्म पुगेनन् । प्रजातन्त्रका असली पुजारी थिए । त्यही प्रभाव बुद्धिसागरमा पनि प¥यो । दाजुहरू पनि शैक्षिक क्षेत्रमा कहलिए । राजनीतिमा पनि केही न केही सक्रिय रहे ।

सामाजिक र राजनीतिक चेत हुनु नै बुद्धिसागर अमेरिकामा आएपछि एनआरएनमा जोडिनुको कारण । समाजसेवाका अनेक माध्यममध्ये प्रवासका सबै नेपालीसँग पनि जोडिने र मातृभूमि पनि जोडिने संस्था एनआरएन नै हो भन्नेमा कुनै द्विविधा भएन । सुरुमा बुद्धिसागर एनआरएनए विस्कानसन च्याप्टर अमेरिकाको २०१७र/१९ को संस्थापक सभापति
सभापति भए । क्षेत्रीय तहको नेतृत्वमा पुगे । एक्कासि नेतृत्वको दाबा उनले गरेका हैनन् । स्थानीय स्तरबाट सङ्घर्ष गर्दै क्षेत्रीय तह हुँदै उपाध्यक्षसम्म भए । अनि अहिले अध्यक्षको दाबेदारी गर्दैछन् । उपाध्यक्ष हुँदा संस्थालाई विस्तार गर्न धेरै योगदान उनले पु¥याए । कतिपयलाई एनआरएनमा किन लाग्ने र भन्ने थियो ? तर बुद्धिसागरले धेरैलाई संस्थामा आकर्षित गर्न सफल भए । धेरै दौडधुप गरे । र, सफलता प्राप्त गरे । कोभिडको महामारी बेला संस्थागत रूपमा र व्यक्तिगत रूपमा पनि धेरै खटिए ।

हो, सबैसँग आआफ्ना राजनीतिक आस्था र विचार छन् । तर एनआरएन राजनीतिक आस्थाभन्दा माथि उठ्ने संस्था हो भन्ने बुद्धिसागरको बुझाइ छ । राजनीतिको रङ कतै नदेखियोस् भन्ने हेक्का उनी राखिराछन् ।

बुद्धिसागर एनआरएन अमेरिकाको अध्यक्ष भए भने के गर्लान् त ? शाखाहरूलाई अधिकार सम्पन्न बनाउने उनको एजेन्डा हो । अधिकार सम्पन्न भए भने काम पनि धेरै हुन्छन् र ग्रास रुटसम्म संस्था पुग्छ भन्ने उनको विश्वास हो । नेपालबाट एनआरएनलाई दोहोरो नागरिकताको सुविधा उपलब्ध गराउन लबिङ गर्ने बुद्धिको योजना छ । जे भन्यो त्यो काम गर्ने बरु नसक्ने काम भन्दै नभन्ने बुद्धिसागरको मान्यता हो । त्यही मान्यतासाथ उनी यसपालिको एनआरएन अमेरिकाको निर्वाचनको दौडमा छन् ।

प्रतिक्रिया