अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

गीतकार बुद्धवीर लामाको १० औं एकल साँझ अमेरिकाको ह्यारिस बर्गमा हुने

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ७:५० मा प्रकाशित

चर्चित गीतकार बुद्धवीर लामाको दशौं एकल साँझ अमेरिकामा आयोजना हुने भएको छ । आगामी शनिबार साँझ (नेपाली समय अनुसार १२ वैशाख बिहान ६ बजे) पेन्सिलभेनिया राज्यको ह्यारिस बर्ग शहरमा आयोजना हुने कार्यक्रमका लागि लामा अहिले अमेरिका हुनुहुन्छ । कार्यक्रममा अमेरिका निवासी नेपाली भाषी कलाकारहरु अर्जुन गुरुङ, यम राई, टिका लामिछाने, निर्मल गुरुङ, पुष्प गजमेर, वीरेन्द्र गुरुङ लगायतले उनका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रम सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गरिनेछ ।

यस अगाडि काठमाडौंमा ८ पटक र झापामा एकपटक एकल साँझ आयोजना गरिसकेका लामाको अमेरिकामा एकल साँझ हुन लागेको यो पहिलो हो । कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बृद्धा आश्रम र बाल अनाथलाई प्रदान गर्दै आउनुभएका लामाले आफ्नी आमा फुलमाया तामाङ जीवित रहँदासम्म उहाँलाई अतिथि बनाएर एकल साँझ गर्दै आउनुभएको छ ।

करिव ४ दशकदेखि गीत लेखनमा क्रियाशील लामाका ‘धेरै चोटी आँखा जुध्यो’, ‘चलेछ बतास सुस्तरी’, ‘बादलुको घुम्टोले’, ‘खुट्टा तान्दै गर’, ‘आज हाम्रो भेट भाको दिन’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘भुपु मायालु’ लगायत सयौं गीतहरू लोकप्रिय छन् । कार्यक्रमका लागि अर्जुन गुरुङ र रत्न गुरुङको संयोजकत्वमा रन राई, ओपी गुरुङ, टीबी गुरुङ, डिबी गुरुङ, विश्व गुरुङ, भुपाल गुरुङ, पुष्प गुरुङ, दीपा गुरुङ, वीरेन राई, मुक्तिराज गुरुङ र निर्मला सापकोटा गुरुङ सदस्य रहेको आयोजक समिति समेत गठन भएको छ ।

प्रतिक्रिया