अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

मङ्गल ग्रहमा नासा हेलिकप्टर उडाउन सफल

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:१४ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष संस्था नासा मङ्गल ग्रहमा एक सानो हेलिकप्टर उडाउन सफल भएको छ । इन्ज्युनिटी नामको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समयका लागि रहेको थियो तर नासाले यसलाई निकै ठूलो उपलब्धि मानेको छ । पृथ्वीबाट सञ्चालित र नियन्त्रित गरेर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो पटक भएकाले नासाले यसलाई ठूलो उपलब्धि मानेको हो ।

मङ्गल ग्रहको एक उपग्रहको माध्यमबाट हेलिकप्टरको डाटा पृथ्वीमा पठाएपछि यसको पुष्टि भएको हो । नासाले आउँदा दिनमा अरू साहसी उडान देख्न मिल्ने विश्वास व्यक्त गरेको छ । नासाका अनुसार प्रविधिको सीमा र इन्जिनियरहरूद्वारा जाँच गरिएपछि इन्ज्युनिटीलाई अझ माथि र लामो उडान भर्न निर्देशन दिइनेछ ।

अमेरिकाको पासाडेनामा नासाको जेट प्रोपल्शन लेबोरेटरीमा इन्ज्युनिटीकी प्रोजेक्ट म्यानेजर मिमि युङले भन्नुभएको छ, ‘अब हामी मानिसले कुनै दोस्रो ग्रहमा एक रोटरक्राफ्ट उडाएको भन्न सक्छौँ ।’मङ्गल ग्रहमा हावामा उडान निकै कठिन छ । त्यहाँको वायुमण्डल निकै पातलो छ, जुन पृथ्वीको वायुमण्डलको मात्र एक प्रतिशत हो ।

लिफ्ट पाउनका लागि रोटरक्राफ्टको ब्लेडले निकै जोर लगाउनु पर्छ ।यही कारण इन्ज्युनिटीलाई निकै हलुका बनाएर त्यसको ब्ल्डलाई २५ सय चक्कर प्रति मिनेटभन्दा धेरै घुम्ने शक्ति दिइयो । यो सुरुवाती सफलताले गर्दा टाढाको ग्रहलाई पत्ता लगाउने तरिका परिवर्तन गर्न सक्ने नासाले विश्वास व्यक्त गरेको छ ।

भविष्यको रोभर्सका लागि ड्रोनको उपयोग हुन सक्छ, यहासम्म कि मङ्गलमा पुगेपछि अन्तरिक्ष यात्रीले पनि यसको प्रयोग गर्न सक्छन् । नासाले पहिले नै शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह टाइटनको लागि एक हेलिकप्टर मिसनलाई अनुमति दिइसकेको छ । यस मिसनको नाम ड्र्यागनफ्लाई राखिएको छ । यो टाइटनमा सन् २०३० को दशकको मध्यमा पुग्ने आश गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू