अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, अविश्वासको प्रस्ताबमा हस्ताक्षर गरेकालाइ मन्त्री पद

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:०६ मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । भावी मुख्यमन्त्रीमा नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । नेपाली काँग्रेस, माओवादी र जसपाका ५ नेता सहित ४१ जनाको हस्ताक्षरमा प्रस्ताव दर्ता गरिएको काँग्रेसका मुख्य सचेतक फकरुद्धिन खानले बताउनुभयो । प्रदेशसभामा अहिले ८५ सदस्य छन् । सरकार बनाउन ४३ प्रदेश सभाका सदस्यको हस्ताक्षर आवश्यक पर्छ ।

यसैबीच, मुख्यमन्त्री पोखरेलले आफू विरूद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाउनुभएको छ । अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रले पोखरेलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादी केन्द्रका दुई मन्त्रीहरूले राजीनामा दिएका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पोखरेलले नयाँ मन्त्री थप्नुभएको हो ।

अविश्वास प्रस्ताव दर्ता गरेको दुई घन्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, र सुमन रायमाझीलाइ मन्त्री बनाईएको हो । यस्तै कल्पना पाण्डे पनि मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु लाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू