अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

अनेसास, कोलोराडो शाखाद्वारा डा. बारबरा निम्री अजिजको पुस्तक चर्चा कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७८ वैशाख ५ गते १६:१० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाद्वारा डा. बारबरा निम्री अजिजद्वारा Yogmaya and Durga Devi: Rebel Women of Nepal शीर्षकमा लेखिएको पुस्तकमाथि जूम अनलाइनबाट गरिएको चर्चा कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएर तत्कालीन नेपालमा कायम रहेको सामाजिक बेथिति र प्रशासनिक अव्यवस्था बिरुद्द विद्रोहको अगुवाइ गरेका दुई नारी पात्रहरू योगमाया न्यौपाने र दुर्गादेवी कार्की घिमिरेको जीवनीमा आधारित रहेर लेखिएको यस पुस्तकको सम्बन्धमा कार्यक्रमका सहभागीहरूले सोधेका विविध प्रश्नहरूको जवाफ पुस्तकका लेखिका डा. अजिजले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय उपाध्यक्ष धर्म श्रेष्ठले डा.अजिज पुस्तकको विषयवस्तु सम्बन्धी अनुसन्धान गर्न नेपाल जाँदाको प्रसङ्गहरू उल्लेख गर्नुभएको थियो भने अनेसास, कोलोराडो शाखाको उपाध्यक्ष सम्झना आचार्यले डा. अजिजको जीवनी पढेर सुनाउनुभएको थियो । अनेसास, बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष तथा पूर्व केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, अनेसास, कोलोराडो शाखाका सल्लाहकार द्वय डा. विजयराज शर्मा र रमेश गुरुङ, र अनेसास, कोलोराडो शाखाका कोषाध्यक्ष विजय अधिकारीले पुस्तकको विषयवस्तु सम्बन्धी प्रश्नहरू राख्नुभएको थियो ।

यसै गरी कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरेर सामाजिक सञ्जालबाट प्राप्त प्रश्नहरू पनि कार्यक्रममा सोधिएको थियो । कार्यक्रममा ऐतिहासिक व्यक्तित्व योगमाया मै आधारित उपन्यास “योगमाया” लेखेर २०७४ सालको मदन पुरस्कार प्राप्त गर्नुभएकी प्रसिद्ध साहित्यकार निलम कार्की निहारिकाको पनि उपस्थिति थियो । कार्यक्रमको सभापति शाखा अध्यक्ष राजु सिटौलाले यो पुस्तकले नेपालको इतिहासबाट पछि पारिएका ऐतिहासिक नायकहरू योगमाया र दुर्गादेवीलाई आम नागरिकसम्म पुर्‍याउन मद्दत गर्ने उल्लेख गर्दै अमेजनमा यो पुस्तकको किन्डल र प्रिन्ट संस्करण दुवै उपलब्ध भएको जानकारी दिएर पुस्तक किनेर पढ्न सबैलाई अनुरोध गर्नुभएको थियो । बिआरटीनेपालबाट प्रत्यक्ष प्रसारित यस कार्यक्रमको सञ्चालन क्यानडा, अल्बर्टाबाट विजया ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू