अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

तनहुँसुर पर्यटन मेलाको तयारी पूरा, पूर्वराष्ट्रपति डा यादवले उद्घाटन गर्ने

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:२४ मा प्रकाशित

तनहूँसुर मेलाको तयारी पूरा भएको छ । पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा हुन लागेको पर्यटन सम्पदा तथा वातावरण मेलाको तयारी पूरा भएको हो ।तनहूँसुर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै स्थानीय समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आइतबार र सोमबार हुने मेलाको तयारी पूरा भएको गरिएको आयोजकले जनाएको छ ।

तनहूँसुर देवस्थल समुदायिक घरबास (होमस्टे) र तनहुँसुर सामुदायिक होमस्टेको आयोजना तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिको सहआयोजनामा मेला हुन लागेको हो । मेलाको पूर्वराष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

तनहुँसुर दरवार परिसर अन्तर्गतका पुरातात्विक सम्पदाका साथै वातावरण संरक्षण एवं प्रवर्द्धनका लागि जनचेतना अभिवृद्धि गर्न, हाल सञ्चालनमा रहेका र सञ्चालन उन्मुख होम स्टेहरुको प्रवर्द्धन गरी आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा उल्लेख्य वृद्धि गर्दै स्थानीय समुदायको समृद्धिका लागि टेवा पुर्याउने मेलाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका अध्यक्ष एवं वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष–२०२० को लक्ष्य एवं उद्देश्यअनुरुप उत्साहजनक रुपमा सञ्चालनमा रहेका पर्यटकीय गतिविधिहरु एकाएक विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अस्तव्यस्त एवं अन्योलको अवस्थामा पुग्न गएको हुँदा पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सहयोग पुर्याउने उद्देश्यसहित मेला हुन लागेको हो । मेलाका अवसरमा तनहूँसुर दरबारमा बिहान ११ देखि साँझ ६ बजेसम्म विभिन्न अन्तरक्रिया, वक्तृत्वकला, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय कार्यक्रमसहित सञ्चालन गरिने बताइएको छ ।

मेलाका अवसरमा धार्मिक एवं ऐतिहासिक स्थलहरुको भ्रमण तथा दर्शन, विविध सांस्कृतिक कार्यक्रमसहित होमस्टे अनुभव, तनहूँसुर इको ट्रेक, पुरातात्विक सम्पदा र वन तथा वातावरणसम्बन्धी प्रदर्शनी, पुरातात्विक सम्पदाको महत्व एवं वातावरण संरक्षण विषयक माविस्तरीय वक्तृत्वकला प्रतियोगिता, खाना महोत्सव सञ्चालन गरिनेछ । खाना महोत्सवमा स्थानीय समुदायको आयोजनामा अर्गानिक खानाका परिकारहरु (सेल रोटी, तरुल, भ्याकुर बटुकी, गुन्द्रुक, भट्ट, भुटेको मकै, सिस्नोको सुप, सुकुटी, लोकल कुखुराको मासु, कोदो÷फापरको ढिँडो) उपलब्ध गराइनेछ । तनहूँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो ।

तनहुँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू