अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:२१ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा आज दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने अध्यक्ष चित्रबहादुर के.सी.ले जानकारी दिनुभयो । अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले गएको मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो ।

प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् । विशेष अधिवेशन आह्वानको माग गर्दै आजै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिइएको छ ।

उनीहरुले प्रदेशसभामा आज नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशनको माग गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाका एक चौथाइ सदस्यले विशेष अधिवेशन माग गर्दै निवेदन दिएमा प्रदेश प्रमुखले अधिवेशनको मिति र समय तोक्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू