अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

“विरोधीहरू सरकार परिवर्तनको खेलमा छन्” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्रीले भुकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुर्ननिर्माण, अस्पताल र बाटाहरू निर्माणका लागि सरकारले उल्लेखनिय काम गरेको दाबी गर्नुभयो । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरूले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’को संज्ञा दिनुभयो ।

ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालले लगानीमैत्री कानुन बनाएको र बन्द, हड्ताल, आन्दोलन जस्ता गतिविधिमा पनि निकै कमी आएकाले लगानीको राम्रो अवसर रहेको बताउनुभयो ।

सरकार, व्यवसायी र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको दाबी गर्दै उहाँले रोजगारीका अवसर सृजना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू