अमेरिकाको साउथ क्यारोलाइना राज्यमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी पाँचजनाको हत्या गरेका छन् ।स्थानीय प्रहरीका अनुसार दुई बालबालिकासहित मारिएका पाँचै जना एकै परिवारका सदस्य हुन् । ७० वर्षका डा. रोबर्ट लेस्लीको घरमा प्रवेश गरेका बन्दुकधारीले गोली प्रहार गरि परिवारका ४ सदस्य र एक जना कामदारको हत्या गरेका हुन् ।
नर्थ क्यारोलाइनाको चार्लोटबाट ४८ किलोमिटर पर साउथ क्यारोलाइनाको रक हिल स्थित घरमा उनीहरूको शव फेला परेको हो । राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण सम्बन्धी नयाँ नियम ल्याउने घोषणा गरेका बेला आक्रमणको यो घटना भएको हो ।
उनीहरूको बुधबार बेलुका हत्या भएको अधिकारीले बताएका छन् । हत्या गर्ने व्यक्ति फिलिप एडम्सको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँग भिडन्त हुने देखेपछि एडम्सले आफैँ गोली हानी आत्महत्या गरेका हुन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणसम्बन्धी नयाँ नियमको घोषणा गर्नुभएको छ । उहाँले दर्ता नभएकाले पत्ता लगाउन नसकिने भन्दै ‘गोस्ट गन’ भनेर चिनिने घरेलु रूपमै उत्पादन हुने बन्दुक प्रयोग रोक्न लक्षित निर्देशन जारी गर्नुभएको हो ।
नयाँ आदेशमा निश्चित बन्दुकहरूबारे नियम तय गर्ने, पृष्ठभूमिबारे जाँच बढाउने र स्थानीय रूपमा हिंसा हुनबाट रोक्ने जस्ता विषयवस्तु समावेश गरिएको छ । हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानको दोस्रो संशोधनले सुनिश्चित गरेको छ र कैयौँ मानिसहरूले बन्दुक नियन्त्रण सम्बन्धी कानुन आफ्नो संवैधानिक अधिकार माथिको उल्लंघनका रूपमा हेर्ने गरेका छन् ।