अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

चैत्र २७ मा देशभरका हलमा ‘श्री’

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:२८ मा प्रकाशित

काठमाडौँ, नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायाङ्कन सकिएको फिल्म ‘श्री’ यही शुक्रवार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ बारे मङ्गलवार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

नयाँ वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,वसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बाल कलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैले पहल गरेको वितरक करण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै उनले आफूले अमेरिकामा रहेका निर्देशक बोहरालाई सम्पर्क गरी हलमै प्रदर्शन गर्ने जिम्मेवारी दिएको बताए । ‘ट्रेलर एकदमै राम्रो लाग्यो । त्यसपछि मैले निर्देशक सूर्य दाइलाई सम्पर्क गरेर यो फिल्म त हलमै प्रदर्शन गर्नुपर्छ । त्यसको सबै चाँजोपाँजो म मिलाउँछु भनेर अनुरोध गरेँ,’ करणले भने, ‘दाइ पनि आफ्नो फिल्म हलमा आओस् भन्ने पक्षमा हुनुहुन्छ । कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीवृद्धिमा ‘श्री’ ले ठुलो योगदान गर्ने विश्वास मैले लिएको छु ।’

‘श्री’ का प्रमुख पात्र सन्दीप क्षेत्रीले यो फिल्म आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनले निर्देशक बोहराले आफूलाई कमेडीबाहेकको भूमिकामा समेत विश्वास गरेर अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । ‘मैले अहिलेसम्म अभिनय गरेको फिल्महरू मध्ये ‘श्री’ उत्कृष्ट छ । मैले मेरा सन्ततिलाई तिम्रो बाबुको फिल्म हो भनेर गर्वका साथ देखाउन सक्छु,’ उनले भने, ‘त्यस्तो बिषमपरिस्थितिमा पनि सूर्य दाइले आँट गरेर फिल्म बनाउनु भयो । अहिले यस्तो अवस्थामा करणजीले प्रदर्शन गर्दै हुनुहुन्छ । यसमा मलाई निकै गर्व लागेको छ ।’ उनले सम्पूर्ण चलचित्र प्रेमीलाई हलमै पुगेर ‘श्री’ हेरिदिन आग्रह गरे ।

अभिनेता भोला सापकोटाले ‘श्री’ मा आफूले निर्वाह गरेको भूमिकाका साथै समग्र फिल्मको चर्चा गरे । उनले विषम परिस्थितिमा समेत हिम्मतका साथ फिल्म निर्माण गरी प्रदर्शन गर्न लागिएकोमा खुसी प्रकट गरे । फिल्मकी निर्मात्री तथा अभिनेत्री सबिता गुरुङले चलचित्र प्राबिधिकहरुलाई राहत स्वरूप ‘श्री’ निर्माण गरिएको स्मरण गर्दै अब यसले हललाई पनि राहत दिने विश्वास व्यक्त गरिन् ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ छायाङ्कन गरिएको थियो । कार्यक्रममा फिल्मका संवाद लेखन शिबम अधिकारी तथा मुख्य सहायक निर्देशक सुदीप कुँवरले पनि ‘श्री’ निर्माण प्रक्रिया र परिस्थितिको बिस्तार लगाएका थिए ।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सह निर्मातामा यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् ।

‘विषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो ’ हाल अमेरिकामा रहेका निर्देशक बोहराको भनाइ छ, ‘जम्मा छ दिनमा कुल ७२ घण्टा क्यामेरा रोल भएको यो फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ ।’ चलचित्र निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई पनि समाजीक कार्यकै रूपमा लिएका छन् ।

‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राविधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म तयार पारिएको हो । कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो फिल्ममा प्रस्तुत गरिएको छ ।’ निर्देशक बोहरा भन्छन् ।

निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका विभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिँदै छ ।

प्रतिक्रिया