अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

प्रदुषण नियन्त्रणका लागि सरकारले गम्भीर चासो देखाएनः साझा पार्टी

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०६ मा प्रकाशित

विवेकशील साझा पार्टीले देशभर वायु प्रदूषण भई अत्यन्त घातक अवस्थामा पुग्दासम्म प्रदुषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीले आज विज्ञप्ति जारी गर्दै संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेकोमा कार्यान्वयनका लागि सरकारलाई स्मरण गराएको जनाएको छ ।

देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी रहेको प्रवक्ता शरदराज पाठकले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन विवेकशील साझा पार्टीले आग्रह गरेको छ । डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गरिआएको हेलिकप्टरबाट रसायन छर्किने सहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन हामी आह्वान गर्दछौँ – विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी धुवाँ धुलो नियन्त्रणका लागि केही समय सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने, सम्भव भएसम्म घरबाट काम गर्न प्रेरित गर्ने, आवश्यक परे प्रदूषण गर्ने उद्योग कलकारखाना केही समय बन्द गर्ने लगायतका उपाय लगाउनु वाञ्छनीय हुने पार्टीले जनाएको छ । फोहोर तथा अन्य बस्तु नजलाउने, अत्यावश्यक नपरी घरबाट ननिस्कने र निस्कनै परे सकभर सार्वजनिक यातायात प्रयोग गर्ने, खुला स्थानमा धूम्रपान नगर्ने, डढेलो जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने जस्ता कार्य नागरिक स्तरबाट गर्नका लागि पनि पार्टीले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू